सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम सुरु

राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिले काम शुरु गरेको छ ।

मन्त्रालयमा गत आइतबार सुझाव समितिको पहिलो बैठक बसेर समितिले सो कार्यक्रमलाई प्रभावकारी बनाउने गरी खाका बनाउने कामलाई अघि बढाएको हो ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि रोडम्यापसहितको सुझाव तयार पार्ने काम सुरु गरिएको समितिका संयोजक डा. शम्भुप्रसाद आचार्यले जानकारी दिए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले कुन हदसम्म अघि बढाउन सक्ने भन्ने कुरापनि सुझावमा उल्लेख गरिने बताए ।

संयोजक डा. आचार्यले भने, ‘राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी सफल पार्ने भन्ने स्वास्थ्यमन्त्री प्रदीप पाैडेलकाे एउटा ठूलो कमिटमेन्ट देखेकाे छु । त्यहीअनुसार कमिटी गठन भएको छ । कमिटीमा डा. भगवान कोइराला, डाक्टर रघुराज काफ्ले हुनुहुन्छ । मन्त्रीज्यूको जुन एक्सपेक्टेशन छ, त्यो एक्सपेटेशनलाई कमिटीले पूरा गर्छ भन्ने मैले विचार राखेको छु । यसलाई कसरी प्रभावकारी बनाउने, कसरी प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याओस् भन्ने कमिटमेण्ट छ । कमिटीले काम सुरु गरिसकेकाे छ ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यही असोज ८ गते स्वास्थ्य बीमा सुधारका लागि सुझाव दिने कार्यादेशसहित डा. आचार्यको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला, विकास अर्थशास्त्री डा. रघुराज काफ्ले, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत रहने गरी सो सुझाव समिति गठन गरेका थिए ।

समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकको आवद्धता बनाउन सम्भाव्य उपायबारेसमेत सुझाव दिने अपेक्षा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर