सुरुङमार्ग बन्यो सहारा

अविरल घनघोर वर्षा र त्यसैका कारण आएको बाढीपहिरो र डुबानले सङ्घीय राजधानी काठमाडौँ सडक सञ्जाल सम्पर्कबाट अलग हुँदा सुरुङमार्ग सहारा बनेको छ । नागढुङ्गाभन्दा तल चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिरनजिकै त्रिभुवन राजपथको झ्याप्लेखोलामा ठुलो पहिरो जाँदा सम्पर्क टुटेको काठमाडौं उपत्यकालाई निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले सहारा दिएको हो ।

सडक अवरुद्ध हुँदा राजधानी आउन जान नसकेका अलपत्र यात्रुलाई पहिलो पटक सुरुङमार्गले सेवा दिएको हो । शनिबारदेखि नै उक्त मुख्य सुरुङमार्गबाट अनौपचारिक आवागमन सुरु भएको छ । सुरुङमार्गको पूरा काम सक्न भने अझै झन्डै एक वर्ष लाग्ने अनुमान छ ।

अहिले सुरुङबाट बस, एम्बुलेन्स तथा अत्यावश्यक सामान बोकेका गाडी आवतजावत गरिरहेका छन् । यात्रुलाई बसमा राखी सुरुङमार्गबाट ओहोरदोहोर गराइएको छ ।

हाज्मा–आन्द्रो निर्माण कम्पनीका साइट सुरक्षा प्रमुख नवीन पण्डितले पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि मानवीय संवेदनशीलताका आधारमा यात्रुलाई सुरुङमार्ग भएर ओहोरदोहोर गराइएको जानकारी दिनुभयो । उहाँले सुरुङमार्गभित्र सुरक्षाको पूर्ण व्यवस्था गरेर सवारीसाधन चल्न दिएको बताए ।

उनका अनुसार शनिबार र आइतबार गरी पाँच हजारभन्दा बढी मानिसलाई सुरुङमार्गबाट पार गराइएको छ । यात्रुलाई चन्द्रागिरि नगरपालिकाले उपलब्ध गराइएका दुई वटा बसमा राखेर ओहोरदोहोर गराइएको हो । अन्य बसलाई सुरुङमार्गभित्र ओहोरदोहोर गर्न दिएको छैन ।

उहाँले ट्रफिक प्रहरी, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना तथा कम्पनी हाज्मा–आन्द्रोको समन्वयमा सुरुङबाट यात्रुसहित अत्यावश्यक सामग्री बोकेका सवारीसाधन पनि पठाइएको बताए  । जसमा एम्बुलेन्स, औषधी, कुखुरा बोकेका गाडी रहेका छन् । नागढुङ्गा–मुग्लिङ सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म सुरुङमार्गबाट यो सेवा दिइने उनले जानकारी दिए ।

प्राविधिक दृष्टिकोणले निर्माणाधीन अवस्थामा रहेको सुरुङमार्गबाट मानिस वा सवारीसाधनलाई आवतजावत गर्न नदिनुपर्ने भए पनि प्राकृतिक विपत्का बेला मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधनलाई आवतजावत गर्न दिइएको सुरक्षा प्रमुख पण्डितले स्पष्ट पारे ।

उनले भने, मानिस ओहोरदोहोर गर्ने गरी सुरुङमार्ग पूर्ण रूपमा तयार भइनसकेकाले मानिसको स्वास्थ्यमा अचानक केही असर गर्न सक्छ कि भनेर बसमा ट्राफिक प्रहरी, सुरुङमार्ग आयोजना र निर्माण कम्पनीका प्राविधिकलाई यात्रुसँग बसमा नै बसेर ओहोरदोहोर गराइएको छ । निर्माण कम्पनीका प्राविधिक र प्रहरीले सवारीसाधनको ‘स्कर्टिङ’ गरिरहेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायब उपरीक्षक ९डिएसपी० रविन कार्कीले नागढुङ्गा–मुग्लिङ सडक बन्द रहेको अवस्थामा आकस्मिक सेवाका रूपमा यात्रुको उद्धारका रूपमा सुरुङमार्ग प्रयोग गरिएको बताए ।गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर