काठमाडाैंमा बाढीले अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने दाबी

अविरल वर्षाका कारण आएको बाढीले काठमाडौंका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने दाबी गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले बाढीले क्षति पुर्‍याएका ठाउँमा आज अनुगमन तथा निरीक्षण गरेका थिए ।

त्यसक्रममा उनले खानेपानी आपूर्तिका लागि आवश्यक कार्य गर्न निर्देशन दिएका थिए । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलले आपूर्ति सुचारुका लागि काम भइरहेकाे जानकारी दिए ।

उनले भने, ‘सोमबारसम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गर्छौं । भूमिगत पानीका धेरै पम्पहाउस डुबानमा भएकाले भूमिगत स्रोतको हाल एक करोड लिटर पानी मात्रै वितरण गर्न सकिनेछ ।’

यसैगरी, ललितपुरको फर्पिङ जलविद्युत् गृहबाट फर्पिङ पम्पिङ स्टेसनमा ल्याइएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानी आपूर्ति असहज भएको पौडेलले बताए ।

काठमाडौंको महाङ्काल चौरको पम्पिङ सिस्टम क्षतिग्रस्त भएकाले मर्मतसम्हारका लागि थप दुई दिन लाग्ने कार्यकारी निर्देशक पौडेलले बताए । विद्युतीय उपकरणमा समस्या आएका कारण पूर्ववत् अवस्थामा नियमित पानी आपूर्तिमा समस्या भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर