बाढीपहिरोबाट बागमतीमा एक सय दुई जनाको मृत्यु, २७ बेपत्ता

भनिन्छ, विपद्को कुनै सीमा र समय हुँदैन, यो जतिबेला जहाँ पनि आउन सक्छ । त्यसैले सचेत हुनु नै उपयुक्त हुन्छ । हिजो यस्तै अकल्पनीय घटना भयो, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरमा ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)क्याम्पमा प्रशिक्षण लिने र होस्टेलमा बसेर विद्यालयमा अध्ययन गर्दै आएका ४० जना विद्यार्थीमध्ये मकवानपुरको हेटौँडाका अनुपम घलान, साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बाराको निजगढका विकल रेग्मी, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी होस्टेलबाट सुरक्षित स्थानतर्फ जाने क्रममा अचानक माथिबाट पहिरो खस्दा बेपत्ता भए ।

बेपत्ता विद्यार्थीको खोजी गर्ने क्रममा शनिबार साँझ ती सबै छजना विद्यार्थीको शव प्रहरीले फेला पा-यो । पढाइ र फुटबल खेलको माध्यमबाट आफ्नो र देशको भविष्य खोज्दै हिँडेका छजना विद्यार्थीको मृत्युपश्चात् धेरै शोकमग्न छन् । मृत्यु भएका छजनाको शवपरीक्षणका लागि हिजो साँझ नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको थियो ।

शवपरीक्षण सकिएलगत्तै हेलिकप्टरबाट विद्यार्थीहरुको शब हेटौँडा ल्याएर अन्त्येष्टिका लागि परिवारजनलाई बुझाइने तयारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए।

यस्तै विपद् आइलाग्यो धादिङको झ्याप्ले खोलामा । गोरखाबाट काठमाडौँका लागि हिँडेको यात्रुवाहक बस पृथ्वीराजमार्गको नागढुङ्गा–नौबिसे सडकअन्तर्गत झ्याप्ले खोलामा पहिरोले पुरिएका ३५ जनाको शव निकालिएको छ । पहिरो हटाउने क्रममा प्रहरीले शव फेला पारेको हो । मकवानपुर र धादिङमा मात्र होइन, अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागमती प्रदेशको काठमाडौँ उपत्यका बाहेकका १० जिल्लामा एक सय दुई जनाको मृत्यु भएको छ ।

यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकामध्ये हालसम्म एक सय दुई जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीकानुसार सबैभन्दा बढी धादिङ र काभ्रेमा जनधनको क्षति भएको छभने सबैभन्दा कम क्षति चितवनमा भएको छ ।

धादिङमा बाढीपहिरोबाट मृत्यु भएकामध्ये हालसम्म ३९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । धादिङपश्चात् काभ्रेमा पनि धेरै जनधनको क्षति भएको छ । काभ्रेमा हालसम्म बाढीपहिरोबाट मृत्यु भएकामध्ये ३८ जनाको शव प्रहरीले फेला पारेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । उनकानुसार काभ्रेमा अझै पहिरोमा बेपत्ता भएकामध्ये आठजनाको शव निकाल्ने प्रयास भइरहेको छ ।

मृतकको सङ्ख्याका आधारमा सिन्धुपाल्चोक बागमती प्रदेशमा बढी जनधनको क्षति भएकामध्ये तेस्रो हो । यहाँ हालसम्म बाढीपहिरोबाट १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै बाढीपहिरोमा परी मकवानपुरमा सात, दोलखामा पाँच, सिन्धुलीमा दुई र रामेछापमा एकजनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी घाइते हुनेको सङ्ख्या काभ्रेमा धेरै छ । यहाँ ४२ जना घाइते हुँदा सिन्धुपाल्चोकमा १६, धादिङमा सात, मकवानपुरमा तीन, दोलखामा दुई र नुवाकोटमा एकजना घाइते भएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

बाढी पहिरोजन्य विपद्बाट काभ्रेमा १८, दोलखामा दुई, सिन्धुपाल्चोकमा दुई र धादिङमा एकजना बेपत्ता रहेका प्रहरीले जनाएको छ । बेपत्ताहरूको खोजी तथा उद्धार गर्न प्रदेशभर चार हजार ११९ प्रहरी परिचालन गरिएका छन् । विभिन्न जिल्लाका दुई सय ४७ परिवारका तीन सय १७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर