विपद् कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय, सबै सांसदले १५ दिनको तलब दिने

सत्ता साझेदार नेपाली कांग्रेसले सरकारको दैवी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।

प्रवक्ता महतले पार्टीले दिने ५० लाखको सहयोगमा संसदीय दलका सदस्यहरुले १५–१५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् । आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका सबै पूर्व घोषित कार्यक्रमलाई स्थगित गर्दै राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

नेता महतका अनुसार एक महिने अभियानका लागि विभिन्न जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई राहत र उद्धार खट्न र कोजाग्रत पूर्णिमासम्मका सबै कार्यक्रम स्थगित गर्दै सो दिन पार्टीले विभिन्न चाडपर्व लक्षित चियापान कार्यक्रम समेत नगर्ने निर्णय गरेको छ । उनले भने, ‘सरकारलाई तत्काल राहत र उद्धारमा ध्यान दिँदै बेपत्ताको खोजी र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *