डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या

डेंगुका अधिकांश बिरामीहरूमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन् ।

डेंगु संक्रमितहरूले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन् ।

अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन् । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्नेजस्ता लक्षणहरू बढी देखिने उनले बताइन् ।

डा. गौतमले पछिल्ला दिनहरूमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताइन् । डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरोलगायतमा केही लक्षणहरू एकआपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरूको पहिचान गरी सतर्क रहन पनि उनले सुझाव दिइन् ।

डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाहबिना जथाभावी औषधी सेवन नगर्न पनि आग्रह गरिन् ।

डा. गौतमले यस वर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामीहरू पाइरहेको र अस्पतालहरूमा डेंगुका बिरामीहरूको चाप बढेको बताइन् ।

डा. गौतमले सबैले सामान्यतः सामान्य रुघाखोकी, डेंगु र कोरोनालाई केही हदसम्म भने छुट्याउन सकिने बताइन् । उनले सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो, जो परिवारको कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जाने बताइन् ।

भाइरल ज्वरोका बिरामीहरू पछिल्लो समय धेरै देखिन थालेको भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन उनले आग्रह गरिन् । त्यस्तै धेरै घाँटी दुख्ने, सुरुमा नै धेरै ज्वरो आउने, आँखाको नानी दुख्ने, ज्यान दुख्नेलगायतका लक्षण देखिए डेंगु हुनसक्ने तर ज्वरो आउनेबित्तिकै अस्पताल पुगिहाल्नुपर्ने अवस्था नरहेकाले ७२ घण्टापछि मात्रै अस्पताल जान सकिने सुझाव उनले दिइन् ।

डा. गौतमले फ्लूबाहेक वासना र स्वाद थाहा नपाएमा भने कोरोना संक्रमण हुनसक्ने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधी सेवन गर्नुपर्ने बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *