परराष्ट्रमन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेशमन्त्री जोन वासबीच न्युयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा दुई देशबिच दशकौँदेखि रहँदै आएको सहकार्यलाई उच्चस्तरीय भेटघाटको आदानप्रदानले थप मजबुत बनाउन सहयोगी हुने विश्वास व्यक्त गरिएको थियो ।

सो अवरसरमा मन्त्री राणाले अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्त्वपूर्ण भएको उल्लेख गरेकी थिइन् । नेपाल र अमेरिकाबिच विगत ७७ वर्षदेखि निकट, आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा उनीहरूबिच छलफल भएको थियो । नेपाली नियोगका अनुसार नेपाल र अमेरिकाले दुई देशबिच प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रताजस्ता विषयमा साझा मूल्यमान्यता रहेको विषयमा कुराकानी भएको थियो ।

मन्त्री राणाले दुई देशबिच विगत वर्षहरूमा हुँदै आएका विभिन्न तहको भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन प्रेरक भूमिका खेलेको बताइन्। उनले  नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकी सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिइन्।मन्त्री राणाले अमेरिकी सहयोग नियोगले सन् २०२२ देखि २०२७ सम्ममा ६५ करोड ९० लाख अमेरिकी डलर नेपालको शिक्षाको गुणस्तर सुधारलगायत क्षेत्रमा खर्च गर्ने गरी प्याकेज कार्यक्रमसम्बन्धी गत वर्ष भएको सम्झौताको स्मरण गर्दै सहयोग निरन्तर रूपमा प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

हालै काठमाडौंमा दुई देशबिच सातौँ व्यापार तथा लगानी ‘फ्रेमवर्क’ सम्झौतासम्बन्धी काउन्सिलको बैठक सम्पन्न भएकामा उनले खुसी व्यक्त गरिन् । उनले नेपाल सन् २०२६ मा अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति हुने प्रक्रियालाई सरल परिवर्तन रणनीति अंगीकार गरेको र यो ऐतिहासिक कोसेढुंगालाई सार्थक तुल्याउन आवश्यक पर्ने स्रोत र आर्थिक साझेदारीका लागि अमेरिकाको सहयोगको आवश्यकता रहेको उल्लेख गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *