यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भए १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए। उनका अनुसार अघिल्लो वर्ष १३ लाखको संख्यामा सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए।

‘यो वर्षको दसैँमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणले उपत्यका छाड्ने अनुमान गरिएको छ,’ प्रवक्ता खड्काले भने। चाडपर्वका वेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्न सक्ने भएकाले सो विषयमा सरोकारवालासँग छलफल भइरहेको उनले बताए।

प्रवक्ता खड्काले भने, ‘सडक राम्रो नहुनु, सवारीसाधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारीसाधन पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ। त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ।’

खड्काका अनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ। दसैँमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उनले बताए। प्रवक्ता खड्काले चाडवाडका वेलामा सवारीचालक एवं सहचालकलाई अझ बढी होसियारी पुर्‍याउन र यात्रुलाई पनि सजग रहन आग्रहसमेत गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *