संविधान संशोधन सरकारको मात्रै विषय होइन : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संविधान संशोधन सरकारको मात्रै विषय नभएको बताएका छन् ।

आइतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दसौँ संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधनको विषय सरकारको विषय नभएको बताए । उनले अहिले संविधान संशोधनको पक्षमा र विपक्षमा नाराबाजी सुरु भएको भन्दै यो दुःखद् रहेको बताए । उनले संविधान संशोधन गर्नेकुरा असमझदारीबाट सुरु हुँदा आवश्यक हुँदाहुँदै पनि अनुपयुक्त हुने जिकिर गरे । उनले व्यवहारमा गरेका अनुभव र जनताको समस्याहरूलाई सम्बोधन गर्नेगरी संविधान संशोधन हुनुपर्ने बताए ।

संविधान संशोधन कसैको जित र हारको विषय नभएको बताए । संविधान संशोधन सत्तामा चढ्ने र ओर्लिने विषयका रुपमा लिन नहुने बताए । उनले संविधान कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताए ।

उनले भने ‘सन्दर्भ अहिले संविधान संशोधनको उठिरहँदाखेरी केही कुराहरू आए मलाई खुसी लागेको छ । किनभने यो ठिक ठाउँमा आएका छन् । यो कुनै बाहिर पत्रिकाहरूको खपतको लागि, चर्चा र परिचर्चाको लागि भन्दा पनि यसको अन्तर्वस्तु के हो ? यसलाई प्रक्रियागत ढंगबाट जाने कुराहरूमा हल्काफुल्का गर्दा के प्रभाव पर्नसक्छ, यसलाई व्यवस्थित ढंगबाट कसरी लैजानुपर्छ भन्ने केही न केही कुराहरू आए । मलाई पनि के लाग्छ भने संविधान निर्माण गर्ने एउटा काम थियो, पाल्र्यामेण्टका ९ वर्ष बिताएर हामी १० औं वर्षमा प्रवेश गरेका छौँ । यसबीचमा हामीले अनुभूत गरेका कुराहरूलाई संशोधन गर्ने प्रक्रियामार्फत संशोधन गर्ने र यसलाई अझ स्थायित्व दिने, व्यवहारमा अझ प्रभावकारी बनाउने उपायहरू खोज्ने यो बेला स्वाभाविक हो । तर यो सबै गरिरहँदा संविधान संशोधन कसले लिएर आयो ? यो विषय कसले उठायो ? त्यसको पक्षमा जाने की त्यसको विपक्षमा जाने ? भन्नेकुराबाटै असमझदारी सुरु भएर संविधान संशोधन गर्नेकुराहरु मेरो विचारमा जरुरी र उचित हुँदा हुँदै पनि अनुचित हुनसक्छ । त्यसले परिणाम पनि नराम्रो ल्याउन सक्छ । त्यसको लक्षण मात्रै होइन, त्यसका गतिविधिहरू बढिरहेको देख्दा मलाई दुःख लागेको छ । यसलाई व्यवस्थित ढंगबाट लैजानुपर्छ, सबैको सहमति चाहिन्छ,सहकार्य न्यूनतम हुनुपर्छ र समझदारी ढंगबाट निकास दिएर यसलाई संशोधन गर्नुपर्छ । त्यसको अगुवाइ व्यवहारिक रूपबाट यो संस्थाले गर्नु उचित हुन्छ । अहिले संविधान संशोधनको विषय सरकारको विषय हो जस्तो मलाई लाग्दैन । यो सरकार बनाउनका लागि नाराको विषय हो भन्ने पनि मलाई लाग्दैन । प्रक्रिया त स्वाभाविक छ । संसदले प्रक्रिया मिलाएर टुंगो गर्ने विषय हो । तर सहमति भनेको आवश्यकता के हो ? यसको औचित्यता के हो रु अझ प्रभावकारी कुन ढंगबाट जान सकिन्छ, त्यो दिशामा जानुपर्छ । अहिले बाहिर चर्चा के आएको छ भने संविधान संशोधन अग्रगमन हो, संविधान संशोधन पश्चगमन हो । संविधान संशोधनको पक्षमा जिन्दावादको नाराहरू सुरु भएको छ, संविधान संशोधन गलत हो भनेर यसको विरुद्धमा नाराहरू सुरु भएको छ । यो दुःखद् कुरा हो । व्यवहारमा गरेका अनुभव के हुन् ? जनताले भोगेका समस्याबाट जानकारी लिएर प्रभावकारी रुपमा संशोधन गर्नुपर्ने बारेमा ध्यान दिनुपर्छ । यो हार र जितको विषय होइन । सत्तामा चढ्ने र ओर्लिने विषय नभई हामीले ल्याएको जनताबाट छानिएका प्रतिनिधिहरूले विचार गर्नुपर्छ । व्यक्तिगत रुपमा हेर्दा संविधानबाट बनाएका योजनाहरू कार्यान्वयन गर्ने सन्दर्भमा कति मेहनत गरेका छौँ । अनिवार्य ऐन कति बनायौँ, कार्यान्वयनमा के कमजोरी भए, त्यसमा ध्यान पुगेको छैन । दिनुपर्ने ऐन दिन सकिएको छैन ।’

सभामुख घिमिरेले न्यूनतम सहमति र सहकार्यको वातावरण बनाइ उपयुक्त ढंगबाट संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *