संविधान संशोधनको कुरा गर्दा झस्किनु पर्दैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दसौँ संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधान परिमार्जनको कुरा उठाउँदा कोही पनि आत्तिनुपर्ने, तर्सिनुपर्ने, झस्किनुपर्ने कुरा नरहेको बताए । उनले संविधान स्वयंले धारा २६५ मा १० वर्षपछि समीक्षा गर् भनेको भन्दै १० वर्षको अभ्यासमा देखिएका समस्या, सवाल र जटिलतालाई सहज बनाउन संशोधन गर्नुपर्ने बताए । उनले राष्ट्रिय स्तरमा वार्ता, संवाद, छलफल गरी व्यापक छलफल, अन्तरक्रिया र राजनीतिक दलका बीचमा छलफल गरी संविधानलाई परिमार्जन गर्नुपर्ने बताए ।

उनले संविधान संशोधनको विषय कुनै एउटा पार्टीको कार्यालयमा बसेर संविधान संशोधन भयो भनेर घोषणा गर्ने र दुई पार्टीले टुँडिखेलमा उभिएर घोषणा गर्ने विषय नभएको बताए । एउटा सार्थक र परिणाममुखी अन्तरक्रिया, संवाद गरेर सहकार्य गरेर संविधानमा परिमार्जन हुने बताए ।

उनले भने ‘अहिले संविधान परिमार्जनको कुरा हामी उठाइरहेका छौँ, म के आग्रह गर्न चाहन्छु भने संविधान संशोधन वा परिमार्जनको कुरा उठाउँदा यसमा आत्तिनुपर्ने, तर्सिनुपर्ने, झस्किनुपर्ने कुनै कुरा छैन । संविधान स्वयंले एक ठाउँमा धारा २६५ जस्तो लाग्छ, आफैँले संविधानले के भनेको छ भने १० वर्षपछि यो भागको समीक्षा गर भनेको छ । हामीले धेरै संवैधानिक आयोगहरू बनाएका छौँ, यो पालि । यो भन्दा पहिलाको संविधानमा ५/६ वटा मात्रै थिए, यसमा बढेको छ । त्यो जुन संवैधानिक आयोगको भाग छ संविधानमा त्यसको अन्त्यमा एउटा धाराले यस भागमा भएका संवैधानिक आयोगहरूका बारेमा १० वर्षपछि समीक्षा गर भनेर संविधानले भनेको छ । १० वर्षमा संविधानको समीक्षा हुन्छ भनेर स्वयं संविधानले भनिराखेको हुनाले अहिले हामीले तीन कुरा गर्नुपर्छ । पहिलो कुरा संविधानको यो नौ, १० वर्षको अभ्यासमा यसको प्रचलनमा के कस्ता सवाल र जटिलता के देख्यो त्यसको मूल्याङ्कन गर्नुपर्छ । त्यसको मूल्याङ्कन गरी सबल र दुर्बल पक्षको मूल्याङ्कन गर्ने । त्यसपछि राष्ट्रिय स्तरमा वार्ता, संवाद, छलफल, जसरी हामीले संविधान बनाएका थियौँ, त्यसरी नै व्यापक छलफल, अन्तरक्रिया र राजनीतिक दलका बीचमा छलफल गरी संविधानलाई कसरी परिमार्जन गर्ने भन्ने विषय अघि बढाउने र संविधान परिमार्जन गर्ने विषय हो । संविधान संशोधनको विषय कुनै एउटा पार्टीको कार्यालयमा बसेर संविधान संशोधन भयो भनेर घोषणा गर्ने, अझ दुई पार्टीले टुँडिखेलमा उभिएर घोषणा गर्ने विषय होइन । यो विषय समग्रमा मुलुकमा क्रियाशील सबै राजनीतिक पार्टीहरूका बीचमा । एउटा सार्थक र परिणाममुखी अन्तरक्रिया, संवाद गरेर सहकार्य गरेर संविधानमा परिमार्जन गर्ने विषय भएको हुनाले त्यही ढंगले बुझ्न उचित हुन्छ ।’

गृहमन्त्री लेखकले वर्तमान संविधानको उपलब्धि महत्वपूर्ण रहेको र उपलब्धिको रक्षा गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *