चितवन-२ का मतदाता भन्छन्- रविलाई भोट दिएकोमा पछुतो छ

सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति एवं पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको सिफारिस गरेको छ।

समितिको सिफासिरसँगै अहिले समाज दुईतिर विभाजित छ। एउटा पक्षले रवि लामिछानेले सहकारीबाट सोझै रकम लिएको प्रमाण नभेटिएको भन्दै रवि निर्दोष रहेको बताइरहेका छन्। तर अर्को पक्षले भने रवि लामिछानेले सहकारीको रकम गोरखा मिडियाबाट लिएर अपचलन गरेको र समितिले पनि कारबाहीको सिफारिस गरेको भन्दै कारबाही हुनुपर्ने धारणा व्यक्त गरिरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता/कार्यकर्ता र पार्टी सभापति लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले लगायतले सभापति लामिछानेले क्लिन चिट पाएको धारणा व्यक्त गरिरहेका छन्।

समितिको गठनको समयमा कार्यादेश बनाउँदा व्यक्तिमा केन्द्रित नभई गोरखा मिडियामा मात्रै छानविन गर्न पाइने नियम बनाइएको थियो। सोहीअनुसार समितिले गोरखा मिडियामा सहकारीबाट विभिन्न रूपमा रकम ल्याइएको प्रमाणसहित सञ्चालकहरुलाई कारबाहीको सिफारिस गरेको छ।

न्युज एजेन्सी नेपालले रवि लामिछानेलाई निर्वाचित गराउने चितवन निर्वाचन क्षेत्र नम्बर २ का मतदाताहरुसँग कुराकानी गरेको छ। जसमा चितवन क्षेत्र नम्बर २ का जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सांसद बनाएकोमा पश्चात्ताप गरेका छन्। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीमा ठगी गरेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेसँगै चितवन क्षेत्र नम्बर २ का जनताले लामिछानेलाई सांसद बनाएकोमा पश्चाताप गरेका हुन्।

पत्रकारिता छाडेर राजनीतिमा आएका लामिछाने संसदीय राजनीतिमा प्रवेश गरेका दिनदेखि विवादित रहे। राजनीतिमा प्रवेश गरेसँगै नागरिकता, रहदानी प्रकरणदेखि सहकारी रकम अपलचन तथा ठगी काण्डमा समेत विवादित बन्न पुगे।

सहकारी रकम ठगी प्रकरणमा दोषी देखिएसँगै चितवन २ का मतदताले दोहोर्‍याएर भोट दिएकोमा पछुतो लागेको गुनासो गरे। मतदाताहरुले पत्रकारिताका माध्यमबाट देश र जनताको लागि गरेका कामको आधारमा भोट दिएपनि पछिल्लो समयमा जनताले सहकारीमा राखेको रकम ठगी प्रकरणमा दोषी देखिँएसँगै पछुतो लागेको बताए।

उनीहरुले लामिछानेले सहकारीको रकम ठगी गरेर चितवनका जनताले दोहोर्‍याएर दिएको मतको अपमान गरेको दाबी गरे। राजनीतिमा जनताको वितृष्णा जागृत भएको समयमा केही आशा लागेर जनताले मत दिएपनि लामिछानेले सहकारीमा गरिब जनताले राखेको रकम अपचलन गरेर राम्रो नगरेको बताए।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीको रकम अपचलनमा दोषी देखाएसँगै चितवन २ सहकारी ठग सांसदको क्षेत्र भन्दा नराम्रो लाग्ने गरेको बताए।

उनीहरुले चितवन २ सहकारी ठग सांसदको क्षेत्र भनेर चर्चा हुँदा किन मत दिएर सांसद बनाइएछ ? भन्ने आफैँलाई हिनताबोध हुने सांसद लामिछानेले चितवनका जनतालाई बनाएको उल्लेख गरे। पछिल्लो समय चितवन क्षेत्र नम्बर २ का टोल, चोक, पसल, खेत, घर र बारीमा लामिछानेकै चर्चा हुने गरेको छ। भरतपुर महानगर पालिका वडा नम्बर १० का रचन कार्कीले रवि लामिछानेलाई चितवन २ बाट निर्वाचन जिताएर पठाएकोमा सहकारी काण्डमा जोडिएसँगै हिनताबोध भएको बताए।

उनले चितवन २ सहकारी ठग सांसदको क्षेत्र भनेर चर्चा हुँदा पनि लामिछानेको चर्तिकलाले हिनताबोध गराएको उल्लेख गरे। उनले अब फेरि पनि निर्वाचन भयो भने जनताले तीनपटक एउटै मानिसलाई भोट नहाल्ने दाबी गरे। उनले दुई पटकसम्म धेरै आशा गरेर जनताले निर्वाचन जिताएर पठाएको उल्लेख गरे। उनले विदेश गएका छोराछोरी स्वदेश फर्कने र प्रदेश खारेज हुने लगायतका आशा बोकेर जनतालाई भोट हालेको भए पनि गृहमन्त्री भएपछि विदेशबाट आफैँ टिकट काटेर देश आउनु भन्ने अभिव्यक्तिले जनतालाई निराश बनाएको बताए।

उनले निर्वाचन जितेर पनि चितवन क्षेत्र नम्बर २ मा बजेट समेत हाल्न नसक्ने सांसदलाई जनतामा निराशा छाएको बताए। उनले सहकारीमा निम्नवर्गका मानिसहरुले जम्मा गरेको पैसा ठगी गर्नु गलत भएको बताए।

उनले भने,‘हामीले निर्वाचन जिताएर पठाएको सांसद रवि लामिछाने सहकारी काण्डमा जोडिँदा हिनताबोध जस्तो भएको छ। चितवन २ सहकारी ठग सांसदको क्षेत्र भनेर भनिरहन्छन्। रवि लामिछानेको चर्तिकलाले गर्दा हिनताबोध गराएको छ। अब फेरी पनि निर्वाचन भयो भने जनताले तीन पटक एउटै मानिसलाई भोट हाल्दैनन्। भोट हाल्न मतदान स्थलमा जाँदैनन्।’

भरतपुर महानगर ११ का गुणकान्त पोखरेलले पनि चितवन क्षेत्र नम्बर २ मा जनताले भगवान बनाएर पनि मतदाताको मतको अपमान गरेको बताए। उनले चितवन २ मा सांसद निर्वाचित भए पनि कृष्णभक्त पोखरेल जतिको पनि केही गरेर देखाउन नसकेको बताए।

उनले रवि लामिछानेले कामभन्दा पनि बढी प्रचारबाजी बढी भएको बताए।

उनले भने,‘चितवन क्षेत्र २ मा उहाँलाई भगवान नै बनाएर पेश गरे मतदाताले तर कृष्णभक्त पोखरेले जे गरेर देखाएका थिए त्यो छैन। प्रचारबाजी बढी  छ। त्यस्तो केही गर्नसक्नु भएन। उहाँ धेरै कुरामा विवादित देखिनुहुन्छ।’

त्यस्तै,भरतपुर महानगरपालिका वडा नम्बर १२ की ओसिन मगरले पनि रवि लामिछानले पत्रकारिताबाट गरेको जतिको काम सांसद भएर गर्न नसकेको बताए। उनले सांसद तथा गृहमन्त्री भएपछि चितवन निर्वाचन क्षेत्रलगायत मुलुकभरको लागि धेरै काम गर्न सक्नुपर्ने भए पनि त्यस्तो काम केही गर्न नसकेको बताए।

उनले उल्टो जनताको रकम सहकारीमार्फत अपचलनमा दोषी देखिनु चितवनका जनताको लागि निराशा छर्ने काम भएको बताए।

भरतपुर ११ का बलराम बोहोराले पनि सहकारी छानविन समितिले दिएको प्रतिवेदन अनुसार जोसुकै भए पनि सरकारले कारबाही गर्नुपर्ने बताए। उनले पार्टीगत हिसावमा कसैलाई पनि छुट दिन नहुने बताए।

उनले जनताले अहिलेसम्म कुनै पनि मुद्धामा न्याय पाउन सकेको भन्दै चिप्लो भाषण र थोत्रो कुरा गर्ने लामिछानेलाई कारकाही गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘उहाँले पत्रकारिताबाट गरेको जतिको काम पनि अहिले गर्न सक्नु भएन। सांसद तथा गृहमन्त्री भएपछि चितवन निर्वाचन क्षेत्र लगायत मुलुकभरको लागि धेरै काम गर्नु सक्नुपर्ने थियो तर त्यो गर्न सक्नुभएन। सांसद भएपछि यहाँप्रति जनताको धेरै आशा गरेका थिए। तर त्यो आशा पूरा गर्न सक्नुभएन।’

भरतपुर महानगरपालिका १० का हरिभक्त पण्डित सबै जनताले सहकारीको पैसा पाउनुपर्ने बताए। उहाँले सरकारले सहकारी पीडितको रकम फिर्ता गराउन सक्नुपर्नेमा जोड दिँदै रविलाई सबैले फसाएको आशय व्यक्त गरे।

उनले जनताले देश बनाउने नेता चाहेको भन्दै जनताको पैसा खान नेता चितवनलाई आवश्यक नभएको बताए। भरतपुर महानगर १० का भीमप्रसाद लामिछानेले लामिछानेमाथि साढेको रजाइँमा बाछाको मिचाइ भएको टिप्पणी गरे। उनले रविलाई फेरि पनि जनताले नजिताउने दाबी गरे।

उनले भने,‘सबै जनताले सहकारीको पैसा पाउनु पर्‍यो। नेताहरुले कसरी हुन्छ। सहकारी पीडितको रकम र्फिता गराउनु पर्‍यो। त्यसरी जनताको पैसा खान पाइँदैन। हामीलाई देश बनाउने नेता चाहिएको हो। देश बिगार्ने नेता चाहिँदैन। चितवनबाट निर्वाचन जितेर जनतालाई बेकुव बनाए। चितवनका जनतालाई बेकुभ बनाएर काठमाडौंमा खाने बस्ने रहेछ। जनताले कसैलाई पनि भोट दिँदैनौं। कसैले गरेनन्। पैसा नखाने नेता चाहिन्छ।’

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले समेत सहकारी ठगी सम्बन्धमा छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। समितिले प्रतिवेदनले विभिन्न सहकारी संस्थाको ६५ करोड रुपैयाँ गोरखा मिडिया नेटवर्कले हिनामिना रवि लामिछाने तत्कालीन प्रवन्ध निर्देशक रहेको निष्कर्ष निकाल्दै कारबाही अघि बढाउन सिफारिस गरेको छ।

प्रतिवेदनमा गोरखा मिडिया नेटवर्कको प्रवन्ध निर्देशकका रुपमा लामिछानेले सहकारीबाट अवैधरुपमा आएको २२ करोड ४६ लाख रुपैयाँ खर्च गरेको ठहर गरेको छ। गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई, प्रबन्धन निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीलाई कारबाही गर्न भनिएको छ।

२०७९ मंसिर ४ को चुनावमा लामिछाने चितवन ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए भने उपनिर्वाचनमा लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर