नेतृत्वको नीतिलाई सफल बनाउन सके कर्मचारी पनि सफल : प्रदीप परियार

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीतिलाई सफल बनाउन सकेमा कर्मचारीहरू स्वयम् सफल हुने बताएका छन्। शुक्रवार(आज) प्रशासन विभागले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै उनले नेतृत्वको नीति सफल बनाउन महानगरका कर्मचारीहरूमा उच्च क्षमता रहेको र यसलाई कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए।

‘नेतृत्वको नीति सफल बनाउँदा कर्मचारीहरू स्वतः सफल हुन्छन्। यो सोच राखेर काम गर्नुपर्छ,’ परियारले भने। उनले चालु आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउँदै यसलाई प्रभावकारी ढङ्गले लागू गर्न सकिएमा प्रगति निरन्तर बढ्दै जाने उल्लेख गरे।

परियारले आफ्नो कार्यकालका उपलब्धिहरू स्मरण गर्दै भने, ‘विगत ५ वर्षमा महानगरले सबैभन्दा धेरै पुँजीगत खर्च गरेको छ। एकीकृत सेवा प्रवाहका लागि एकल सेवा केन्द्र स्थापना गरिएको छ। विद्युतीय शासन प्रणालीलाई परिष्कृत गरिएको छ। यी सबै कामहरूलाई संस्थागत अभिलेखमा राखेर हस्तान्तरण गरेको छु।’

महानगर प्रमुख बालेन्द्र साह(बालेन)लाई ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ हस्तान्तरण गर्दै परियारले आफ्नो ७ महिना २५ दिनको कार्यकालमा भएका महत्त्वपूर्ण कामहरूको विवरण प्रतिवेदनमा समावेश गरिएको जानकारी दिए। उनले उक्त प्रतिवेदन संस्थागत सुदृढीकरणमा नयाँ आयामको सुरुवातका लागि एक महत्त्वपूर्ण दस्ताबेजका रूपमा बुझाएका हुन्।

प्रतिवेदन ग्रहण गर्दै महानगर प्रमुख साहले परियारको कार्यकालको प्रशंसा गर्दै उनले महानगरका कर्मचारीहरूको काम गर्ने शैली र नेतृत्वको सुदृढीकरणमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरे। साहले परियारलाई मायाको चिनो प्रदान गर्दै उनका भविष्यका कार्यहरूको सफलताको कामना पनि गरे।

मन्त्रिपरिषद्को भदौ २७ गतेको निर्णयानुसार परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको थियो। भदौ ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको पत्र पठाएको थियो।

२०८० माघ ३ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रिय योजना आयोगबाट सरुवा भएर परियार माघ १० गते काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यभार सम्हालेका थिए।

कार्यक्रममा प्रशासन विभागका प्रमुख नमराज ढकालले परियारको कार्यकालमा संस्थागत सुधारका लागि अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट (ओएण्डएम) का लागि गहन काम भएको उल्लेख गरे। ‘परियारको नेतृत्वमा थालिएका सुधारका कामहरूलाई निरन्तरता दिइनेछ, उनले भने, विभागीय प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता भइसकेको छ। अधिकार प्रत्यायोजन भइसकेको छ, अब विभागहरूलाई सहज रूपमा काम गर्न सजिलो हुनेछ।’

बिदाइ कार्यक्रममा विभिन्न विभागीय प्रमुखहरूले परियारको कार्यकाललाई स्मरणीय र सकारात्मक रहेको उल्लेख गर्दै उनको नेतृत्वमा भएका सुधारका कामहरूको प्रशंसा गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर