चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार्यालयमा आवागमनसम्बन्धी तथ्याङ्क चुस्तदुरुस्त रुपमा राख्ने उद्देश्यले विद्युतीय हाजिरको व्यवस्था गरिएको कार्यालयले स्पष्ट गरेको छ ।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार गत साउन १ गतेदेखि विद्युतीय हाजिरको व्यवस्था गरिएको हो । जिल्ला कार्यसमितिका ६७ जना, क्षेत्र, प्रदेश र पालिका समितिका १६ जना सभापति र पाँच जना कर्मचारीसमेत गरी जम्मा ८८ जनाको हाललाई विद्युतीय हाजिरीमा अभिलेख हुने व्यवस्था गरिएको छ । सभापति खनालले भने, पार्टी कार्यालयमा जडान गरिएको विद्युतीय हाजिरी उपकरणअघि उभिएपछि हाजिरी हुन्छ, जिल्लास्थित तोकिएका नेताहरू पार्टी कार्यालय आउँदा हाजिर गर्ने परिपाटी सुरु भएको छ, यसलाई अझ व्यवस्थित, प्रभावकारी, प्रविधिमैत्री र जवाफदेही बनाउँदै नवीन सोचका साथ जिल्ला पार्टी कार्यालय सञ्चालन गर्दछौँ ।

चितवनबाट सुरु भएको हाजिरी व्यवस्थापनसम्बन्धी प्रविधिमा आधारित अभ्यास क्रमशः अन्य जिल्ला कार्यालयमा पनि सुरु हुने विश्वास व्यक्त गर्दै उनले देश र जनताका पक्षमा स्थापित जिम्मेवार राजनीतिक पार्टीमा आबद्ध नेता तथा कार्यकर्ता सदैव सेवाका साथ मुलुक र जनताप्रति समर्पित हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *