औद्योगिक नगरी पर्सामा बीमाप्रतिको आकर्षण कम

आर्थिक र औद्योगिक नगरीको रूपमा परिचित पर्सा जिल्लामा जीवन बीमाप्रति सर्वसाधारणको आर्कषण न्यून देखिएको छ । बीमासम्बन्धी जनचेतनाको कमीले यहाँका सर्वसाधारणमा बीमाप्रतिको आकर्षण न्यून देखिएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमा शुल्क सङ्कलनमा पर्साको हिस्सा एक दशमलव ८८ प्रतिशतमात्रै छ । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आर्थिक र औद्योगिक नगरीको रूपमा पर्सा चिनिए पनि जीवन बीमा र निर्जीवन बीमाप्रति सर्वसाधारणको आकर्षण न्यून रहेको जानकारी दिए ।

‘जिल्लामा आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमातर्फ जारी बीमालेख सङ्ख्या १२ हजार ५५ रहेको छ,’ उनले भने, ‘जीवन बीमाको सक्रिय बीमालेख सङ्ख्या १२ लाख तीन हजार चार सय ७७ छ ।’

प्राधिकरणका अनुसार गत आवमा जिल्लामा जीवन बीमाको भुक्तानी सङ्ख्या छ हजार आठ सय २० रहेको थियो । सो अवधिमा दाबी भुक्तानी रकम रु ८७ करोड ८८ लाख रहेको छ ।

जिल्लामा आव २०८०/८१ सम्म जारी निर्जीवन बीमा लेख सङ्ख्या ८४ हजार सात सय २३ रहेको छ । सो अवधिमा निर्जीवन बीमातर्फ बीमा शुल्क सङ्कलन एक अर्ब १३ करोड १६ लाख रहेको छ ।

त्यस्तै, निर्जीवन बीमा शुल्क सङ्कलनमा जिल्लाले दुई दशमलव ७५ प्रतिशत मात्र हिस्सा ओगटेको छ । जिल्लामा निर्जीवन बीमाको दाबी भुक्तानी सङ्ख्या दुई हजार पाँच सय ६७ रहेको छ । सो अवधिमा निर्जीवन बीमाको दाबी भुक्तानी रकम रु ६४ करोड ८२ लाख रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *