आईसीसी विश्वकप लिग-२ : आज नेपाल र क्यानडा भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।

गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग-२ कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार आज राति पौने ८ बजे क्यानडाको ओन्टारियोमा शुरु हुनेछ । सात महिनापछि लामो फरम्याटमा मैदानमा उत्रन लागेको नेपालका लागि ओमान र क्यानडाविरुद्धको त्रिकोणात्मक सिरिज निकै महत्त्वपूर्ण छ । लिग-२ को पहिलो सिरिज नेपालमै खेलिएको थियो ।

भारत र श्रीलंकामा गरेको तयारी, टी-२० विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च मनोबलसहित नेपाली राष्ट्रिय क्रिकेट टोली शतप्रतिशत नतिजा हात पार्ने लक्ष्यका साथ क्यानडा भ्रमणमा छ । क्यानडामा नेपालले ओमान र घरेलु टोलीसँग डबल राउण्ड रोबिनका आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ ।

घरेलु सिरिजमा ४ मध्ये ३ खेल नेपालले गुमाएको छ । नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । ओडिआई सिरिज सकिएको २ दिनपछि तीनवटै टोलीले त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर