जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

शुक्रवार काठमाडौंको वीर अस्पतालमा डा। केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उनले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताएका हुन् ।

सरकारले क्यान्टर, किड्नीलगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका बिरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिबद्धता थियो । उनले उपचारको अभावमा जलन रोगीहरूको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरूको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पारे ।

मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिए ।

उनले भने ‘आम नागरिकले जलन उपचारका निम्ति सुविधा पाउने एउटा स्थिति वीर अस्पतालमा बनेको छ । खासगरी बाहिरबाट हेर्दा जलन उपचार नपाएर, उपचार गर्न नसकेर मृत्यु हुनेहरू पनि थुप्रै हुनुहुन्छ । जीवनभर शारीरिक अपाङ्गता व्यहोर्नुपर्नेहरु पनि थुप्रै हुनुहुन्छ । यो एउटा एक्सिडेन्टल समस्या हो । यो जानेर हुने कुरा होइन । त्यसकारण यसको उपचारलाई प्राथमिकतामा राखिनुपर्छ भनेर हामीले मन्त्रालय सम्हालेदेखिनै यो ८ वटा रोगमा राज्यले जुन सुविधा दिएको छ । यो नवौँ उपचार सुविधा पाउने अवस्था बनाउन हामीले निरन्तर प्रयास गरेका छौं । स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेर पठायो । त्यो प्रस्ताव स्वीकृत भएको छैन । माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्यूले यसको उपचारको निम्ति डेडिकेटेड सरकारी अस्पताल पहिला हुनुपर्याे । त्यसपछि हामी त्यसमा काम गर्छौ भन्नु भएको छ । आज वीर अस्पतालमा वर्न वार्डमा डेडिकेटेड ट्रिटमेन्ट सेन्टर बनेको छ । अव यो भएपछि म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु–यो जलन उपचारमा सेवा सुविधा दिनेगरी एक लाख रुपैयाँ दिने व्यवस्था हामीले तत्काल गर्नेछौँ । यो कुराको कमिटमेन्ट म गर्न चाहन्छु ।’

त्यस अवसरमा वीर अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भएपनि नेपाल सरकारले प्राथमिकता दिएपछि सो सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताए । उनले बिरामीहरूको चापलाई ध्यानमा राखेर वीर अस्पतालमा चार वटा फार्मेसीको व्यवस्था गरिएको पनि मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *