वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन्। नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा उनले दुई ठुला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनतामा आशा जगाएको बताए। ‘दुई ठुला दल मिल्दा अवसर र चुनौती दुवै छन्, यसलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

पार्टी र जनप्रतिनिधिबिच एक–आपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका नेता खड्काले पार्टी संगठनलाई बलियो बनाउन मोरङ कांग्रेसबाट अन्य जिल्लाले पाठ सिक्नुपर्ने बताए। मन्त्री खड्काले कोशी प्रदेशबाट कांग्रेसको प्रतिनिधित्व गरी आफू मन्त्री बनेकाले यो प्रदेशप्रति जिम्मेवार बोध हुने गरी काम गर्ने उल्लेख गरे । उनले संस्थागत रूपमा विकास योजनाका काम ल्याउनसमेत पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे।

ऊर्जामन्त्री खड्काले आगामी एक वर्षभित्र देशभर विद्युतीकरण गरिसक्ने अभियानका साथ सरकारले काम गरिरहेको बताए । सुशासनलाई केन्द्रमा राखेर मन्त्रालयले काम गरिरहेको उनले बताए ।

नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले कांग्रेस सरकारमा सहभागी भएको अनुभूत जनतालाई हुने गरी काम गर्न आग्रह गरे । उनले पार्टीसँग समन्वय गरेर ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।

कोशी प्रदेशका सांसद गयानन्द मण्डलले सिँचाइको व्यवस्था ‘इलेक्टिक बोरिङ’बाट गर्न आग्रह गरे । उनले सिँचाइमा विद्युतीकरण गर्न सके मुलुकको कृषि क्षेत्रको विकासमा टेवा पुग्ने बताए । बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदारले बुढीखोला बाढी नियन्त्रणका लागि तटबन्धनको व्यवस्था गर्न माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर