काठमाडौंमा पानीको थप स्रोत खोजी गर्न मन्त्री यादवको निर्देशन

खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म काठमाडौं उपत्यकामा पानीको आपूर्ति सुधार्न र थप स्रोत खोजी गर्न निर्देशन दिएका छन् ।

तारकेश्वर नगरपालिकास्थित अल्ले र बौडे तथा टोखा नगरपालिकास्थित भण्डारे मुहानको अनुगमन तथा निरीक्षण पश्चात उनले यस्ता स्रोतहरुको संरक्षण र सुधारलाई प्राथमिकता दिइ पानीको चुहावट रोक्न निर्देशन दिए ।

मन्त्री यादवले मन्त्रालयका कर्मचारीलाई हाल अल्ले, बौडे, भण्डारे र तारकेश्वरलगायतमा रहेका मुहानबाट आपूर्ति भइरहेको ६५ लाख लिटर पानी अपुग रहेको बताए । ती मुहानबाट दैनिक एक करोड २१ लाख लिटर पानी आपूर्ति हुनसक्ने सम्भावना रहेकाले सोहीअनुसार काम अगाडि बढाउन निर्देशन दिए ।

यसैगरी मन्त्री यादवले उपत्यकाका पानीका स्रोतलाई दीर्घकालीन रुपमा संरक्षित गर्नु मन्त्रालयको प्रमुख दायित्व भएको उल्लेख गरे । उनले भने, ‘यस्ता स्रोतहरुको पानी नजोगिने गरी चुहावट भइरहेकाले त्यसलाई रोक्न अत्यावश्यक छ ।’

मन्त्री यादवले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मन्त्रालयबाट आफूले प्राथमिकताका साथ ठोस योजना अघि सारिरहेको दाबी गरे । उनले भने, ‘खानेपानीको समस्याबाट देशभरिका जनताले दुःख पाइरहेका छन्, म यो विषयमा गम्भीर छु ।’

अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै मन्त्री यादवले उक्त क्षेत्रमा भएका चुनौती र सम्भावनाबारे थप जानकारी लिए । समस्या समाधानका लागि सरकार दृढतापूर्वक काम गरिरहेको उनले स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर