नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्लो समय खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवर्द्धनले पारा ओलम्पिकमा कांस्य पदक जित्नु एक कोशेढुंगा साबित भएको बताए।

पलेसालाई दिइने रु. ६५ लाख पुरस्कार कर नकटाई छिट्टै दिइने जनाउँदै प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा भएर प्राप्त नहुने रोग अब अन्त्य हुने दाबी गरे।

‘मौका पाएपछि नेपालीले गर्छ भनेर मैले भन्दै आएको छु। हामीले नयाँ-नयाँ सफलता र रेकर्ड कायम गर्नुपर्छ। पुराना रेकर्डहरू तोड्दै जानुपर्छ। म सबै खेलाडीलाई भविष्यमा थप सफलता मिलोस् भन्ने शुभकामना दिन्छु,’ परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो अबको लक्ष्य जापानको ओलम्पिक खेल हुनुपर्छ। एसियन खेल लक्ष्य हुनुपर्छ। त्यसको तयारी राम्रोसँग होस्। त्यसअनुसारको तालिम र अभ्यास होस्  भन्न चाहन्छु।’

प्रधानमन्त्री ओलीले कुनै पनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेलेमा जित हासिल हुने विश्वास व्यक्त गरे। उनले खेल क्षेत्रका संस्थाहरू लोकतान्त्रिक रूपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाई राख्ने प्रवृत्ति उचित नहुने स्पष्ट पारे।

कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्टता हासिल गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *