पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया बदर गर्न माग गर्दै पूर्वसीईओ धनञ्जय रेग्मीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।

सीईओका प्रतिस्पर्धी रेग्मीले बोर्ड सञ्चालक समितिले प्रक्रिया नपुर्‍याई दीपकराज जोशीलाई सीईओ नियुक्त गरेको दाबी गर्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटमा आज सुनुवाइ हुने भएको हो । सीईओ छनोट उपसमितिले टुंगो लगाएका अन्तिम तीन प्रतिस्पर्धीको सूचीमा आफू पहिलो नम्बरमा रहेको उनको दाबी छ ।

लोकेसवा आयोगसमेत संलग्न भई लिइएको परीक्षामा सर्वोत्तम अंक ल्याएको उम्मेदवार पन्छाएर बोर्डले जोशीलाई नियुक्त गरेको उनको आरोप छ । रेग्मीले आफूभन्दा ९ नम्बर कम भएका जोशीलाई नियुक्त गरेको दाबी गरेका छन् ।

बोर्ड बैठक पनि गैरकानुनी रहेको दाबी रेग्मीको छ । सीईओ छनोट उपसमितिले प्राप्तांकका आधारमा तीन जना सूचीकरण बोर्ड बैठकमा प्रस्तुत गर्ने गरी २१ भदौको साँझ बैठक डाकिएको थियो । सीईओ नियुक्तिसम्बन्धी एजेन्डा नभई उपसमितिले सूची बुझाउन नपाउँदै सीईओ नियुक्त गरेको रेग्मीको दाबी छ ।

रेग्मीको दाबी अनुसार बोर्डमा सीईओ नियुक्तिसम्बन्धी एजेन्डाबिना नै किन सीईओ नियुक्त गरियो भन्ने प्रश्न पनि उठाएका छन् । सीईओका लागि रेग्मीसहित जोशी र ज्ञानेश्वर महतो छनोट भएका थिए । सीईओका लागि प्रतिस्पर्धा गरेका १४ जनामध्ये तीन जना अन्तिम सूचीमा परेका थिए ।

तर, छनोट समितिले तीन जनाको नाम सीईओका लागि सिफारिस गर्ने व्यवस्था छ । त्यसरी सिफारिस गरिएका व्यक्तिहरूमध्ये समितिले उपयुक्त देखेको व्यक्तिलाई बोर्डको कार्यकारी प्रमुखमा नियुक्त गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर