सरकारले असोज ७ गतेबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने बताएका छन् । मंगलवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सो जानकारी दिएका हुन् ।

उनले चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था गरिरहेको बताए । उपभोक्ता अदालत गठनको लागि प्रक्रिया अगाडि बढिसकेको पनि उनले जानकारी दिए ।

उनले बजारमा उच्च मागहरु हुने समयमा मूल्य अस्वभाविक रुपमा वृद्धि गर्नसक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिब्रता दिइएको बताए ।

उनले सूचना र अनुसन्धानका आधारमा बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने संवेदनशील, जोखिमयुक्त बजार क्षेत्रको यकिन तथा विश्लेषण गरी नियमित एवं आकस्मिक अनुगमन गर्ने बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत स्थानीय तहहरुसँगको समन्वयमा रैथाने बाली र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न ति वस्तुहरुको खरिद गर्ने व्यवस्था मिलाइएको बताए ।

‘चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्थापन मिलाइरहेको छ । साथै चाडवाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्न तयारी भइरहेको छ । उपभोक्ता अदालत गठनको लागि प्रक्रिया अगाडि बढिसकेको छ । साथै बजारमा उच्च मागहरु हुने समयमा मूल्य अस्वभाविक रुपमा वृद्धि गर्नसक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिब्रता दिइएको छ । सूचना र अनुसन्धानका आधारमा बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने संवेदनशील, जोखिमयुक्त बजार क्षेत्रको यकिन तथा विश्लेषण गरी नियमित एवं आकस्मिक अनुगमन गरिनेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत स्थानीय तहहरुसँगको समन्वयमा रैथाने बाली र स्थानीय उत्पादनको प्रवद्र्धन गर्न ति वस्तुहरुको खरिद गर्ने व्यवस्था मिलाइएको छ,’उनले भने ।

अहिलेको सरकारसँग धेरै अपेक्षा रहेको उल्लेख गर्दै उनले अपेक्षा बढी हुनेसँग बिरोध, असहमति र मागहरु बढी हुने बताए । जायजपूर्ण मागहरुलाई, जनताका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिने मन्त्री भण्डारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *