काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या, दुई जना पक्राउ

काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या भएको खुलको छ। गत बिहीबार बिहान ९ बजे गोकर्णेश्वर नगरपालिका-१ को सुन्दरीजलको बोक्सेदहमा ढुंगामा च्यापिएको अवस्थामा भेटिएकी महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार उनको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। मृतक सिराहा घर भई काठमाडौं महानगरपालिका ३ बसुन्धारा बस्दै आएकी राम दुलारी छिन्। उनको परिवार तथा आफन्त प्रहरीको सम्पर्कमा आइसकेका छैनन्।

हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका- ३ बस्ने ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका-५ घर भई बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरालाई पक्राउ गरेको हो।

मृतक महिलाको शव फेला परेपछि प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। घटनास्थलमा अनुसन्धान गर्दा श‌ंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको हो।

मृतक राम दुलारी र रामविनय महराबीच दुई वर्षदेखि चिनजान थियो। उनीहरू प्रेम सम्बन्धमा थिए। रामविनय पुलमुनि बसेर जुत्ता सिलाउँथे भने रामदुलारी मजदुरको काम गर्थिन्।

मृतक राम दुलारीले दिनहुँ मापसे गर्ने गरेको र अन्य पुरूषसँग पनि सम्बन्ध रहेको आशंकामा रामविनयले सन्तोषसँग मिलेर हत्या गर्ने योजना बनाएको एसपी अधिकारीले बताए। सन्तोष रामविनयका फुपाजु हुन्। दुबै जनाले राम दुलारीलाई घटनास्थलसम्म लगेर उचाइबाट धकेलेर घाइते बनाएको एसपी अधिकारीले बताए।

घाइते रहेकी राम दुलारीलाई दुबै जनाले पालैपालो ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ। पक्राउ परेका रामविनय र सन्तोषमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *