१३औँ सागमा स्वर्णसहित २०७ पदक विजेतामध्ये १०० खेलाडी विदेश पलायन
अन्तर्राष्ट्रिय मैदानमा कुनै खेलाडीले पदकसहित राष्ट्रिय झन्डा फहराउँदा सिंगो देशले गर्व महसुस गर्छ । देशको प्रतिष्ठा बढाउँदै नागरिकमा खुसी छर्ने ती खेलाडी भने असीमित दुःख र बाध्यतामा बाँचेका छन् । राज्यले औसत जीवनयापनको समेत सुनिश्चितता नगर्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा पटक–पटक पदक जितेका खेलाडी पनि फटाफट विदेश पलायन भइरहेका छन् ।
०७६ मंसिरमा काठमाडौंमै भएको १३औँ सागमा नेपाललाई पदक जिताएका १०० खेलाडी विदेश पलायन भइसकेका छन् । सो प्रतियोगितमा नेपालले ५१ स्वर्णसहित कुल २०७ पदक जितेको थियो । सम्बन्धित खेल संघ र प्रशिक्षकले नयाँ पत्रिकालाई उपलब्ध गराएको विवरणअनुसार पदक जितेका आधा खेलाडी अहिले विदेशी भूमिमा छन्, जसमा स्वर्ण विजेता २८ खेलाडी छन् ।
१३औँ सागमा ४३७ नेपाली खेलाडी सहभागी थिए । प्रतियोगितामा समावेश २९ वटै खेलमा प्रतिस्पर्धा गरेको नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य जितेको थियो । दक्षिण एसियाका सात राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो भएको थियोे ।
उक्त प्रतियोगितामा देशलाई सर्वाधिक २९ (१२ स्वर्ण, ६ रजत, ११ कांस्य) पदक दिलाएको तेक्वान्दोका खेलाडी नै धेरै पलायन भएका छन् । आठजना स्वर्ण विजेतासहित १८ खेलाडी बिदेसिएका छन् । जसमध्ये १२ जना अहिले अस्ट्रेलियामा छन् ।
त्यस्तै, कराँतेबाट १० स्वर्ण, चार रजत र पाँच कांस्य गरी १९ पदक भित्रिएको थियो । पदक विजेता १७ खेलाडी विदेश पलायन भएका छन् । जसमध्ये १२ खेलाडी अस्ट्रेलिया पुग्दा दुई खेलाडी खाडी मुलुक कतार र कुवेतमा संघर्ष गरिरहेका छन् । कांस्य जितेका अर्जुनकुमार बागचन त ज्यान जोखिममा राखेर रसियन सेनामा भर्ती भएका छन् । दाङका यी खेलाडी कमजोर आर्थिक अवस्थाका कारण रसियन आर्मीमा पुगेको कराँतेकै खेलाडीहरू बताउँछन् । जुडोकी कांस्य पदक विजेता सोनिया भट्ट भने डिभी परेर अमेरिका पुगेकी छिन् ।
टिम गेममा सबैभन्दा धेरै फुटबल र बास्केटबलका खेलाडी विदेश भासिएका छन् । दुवै खेलका पदक विजेता १२–१२ खेलाडी बिदेसिएका छन् । फुटबलमा मात्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका करिब ६० भन्दा धेरै खेलाडी बिदेसिएको अनुमान छ । त्यसैले, अहिले फुटबल टोलीमा अनुभवी खेलाडी नै छैनन् । त्यस्तै, १३औँ सागमा ब्याडमिन्टनमा पदक भित्र्याउने नौ खेलाडी पलायन भएको सम्बन्धित खेल संघले जनाएको छ ।
फेन्सिङका प्रशिक्षकमा अनुप कपालीले सागका पदक विजेता तीन खेलाडी विदेश पलायन भएको बताए । नेपाल आर्चरी संघका महासचिव रमेश शिवाकोटीले पनि पदक विजेता खेलाडी बाध्य भएर बिदेसिएको बताए ।
पौडीमा चार स्वर्ण र दुई रजत जितेर १३औँ सागमा सनसनी मच्चाएकी गौरिका सिंह अहिले अमेरिकामा छिन् । उनी विगतमा बेलायतमा बसेर ट्रेनिङ गर्थिन् र नेपालका घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउँथिन् । पछिल्लो समय अमेरिका बस्ने गरेकी उनी नेपालमा प्रतिस्पर्धा गर्न नआएको पनि ६ महिना भएको छ ।
राज्यले खेल क्षेत्रलाई उपेक्षा गर्दा खेलाडीमा पनि ‘खेलबाट भविष्य बन्दैन’ भन्ने मनोविज्ञानले जरा गाड्दै गएको देखिन्छ । आर्थिक रूपमा जीवनयापन गर्न कठिनाइ हुने मात्रै होइन, देशभित्र नियमित खेलकुद गतिविधि नहुँदा उनीहरूमा निराशा बढाएको छ । बिदेसिने धेरै खेलाडीको रोजाइ अमेरिका, अस्ट्रेलिया र बेलायत देखिन्छ । केही उज्ज्वल भविष्यको सपनासहित खाडी मुलुकमा पनि संघर्ष गर्न बाध्य छन् भने केही ज्यान जोखिममा राखेर रुसी सेनामा समेत भर्ती भएका छन् । नयाँपत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया