जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरुले गर्नुपर्छ : उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरुले गर्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपालमा समाजवादः चुनौती र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगेको भन्दै यी मुद्दाहरु उठाउने कामको अगुवाई वामपन्थीहरुले गरेको बताए ।

उनले जलवायु संकटका एकमात्र कारकहरु दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरु रहेको बताए । उनले अहिले श्रमिकहरु झनै संकटमा परिरहेको बताए ।

‘केही नयाँ इस्युहरु आएका छन् । जुन इस्युहरुको लिड वामपन्थीहरुले, समाजवादीहरुले लिनुपर्छ । जलवायु संकट, जलवायु परिवर्तनको तहबाट जलवायु संकटको तहमा पुगेका छौँ । त्यसले ढोका ढक्ढक्याउन थालेको छ । त्यो मुद्दाहरुको अगुवाई हामी वामपन्थीहरुले गर्नुपर्छ । किनभने जलवायु संकटका एकमात्र कारकहरु भनेका दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरु हुन्’, उनले भने, ‘श्रमिकहरु झनझन संकटमा पर्न थालेका छन् । जुन हिसावले उत्पादनका ढाँचाहरु बदलिएका छन्, त्यो स्थितिभित्र हिजोको संगठित श्रम कमजोर हुँदै गएर मान्छेका आउटसोर्समाध्यमबाट, अरु विभिन्न ढंगले, प्रविधिमा लिड गर्ने कुराहरु छन् ।’

उपमहासचिव ज्ञवालीले २०६२/०६३ को क्रान्तिले आर्थिक आधार परिवर्तन गर्न नसकेको बताए । २० प्रतिशत गरिबीको रेखामुनी रहेका नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरुले लिनुपर्ने बताए । उनले राष्ट्रिय पुँजी निर्माण, सबै नागरिकमा शिक्षा, स्वास्थ्यको पहुँचमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *