केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचन सुरक्षा र बाढी-पहिरोले पुर्‍याएको क्षतिबारे छलफल

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बुधबार दिउँसो गृह मन्त्रालयमा बसेको छ ।

बैठकमा मुख्यगरी केही दिनअघि कर्णाली र सुदूरपश्चिमका केही जिल्ला तथा बाँके, बर्दिया र दाङमा बाढी–पहिरोले पुर्‍याएको क्षति र आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे छलफल भएको छ ।

बैठकमा गृहमन्त्री खाणले हुम्ला, जुम्ला, मुगु र कालिकोटमा बाढी र पहिरोले पुर्‍याएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी रिपोट पेस गर्न गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका अधिकारी रहेको टोली बनाउन निर्देशन दिए । त्यसको टोलीको समन्वय गर्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई जिम्मेवारी दिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

सरकारले तत्कालका लागि उपलब्ध गराउनुपर्ने राहत उपलब्ध गराइरहेको र दीर्घकालीन समाधानका लागि टोलीको रिपोर्ट आएपछि रणनीति बनाएर अगाडि बढ्ने गृहमन्त्री खाणले बताए ।

बैठकअघि गृहमन्त्री खाणलाई मुगु र जुम्लाको टोलीले बाढी र पहिरोले पुर्‍याएको क्षतिबारे ध्यानाकर्षण गराएको थियो ।

त्यस्तै बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । बैठकमा निर्वाचनका चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले अन्य सदस्यहरूलाई जानकारी गराएका थिए । ती चुनौतिलाई समाधान गर्दै अगाडि बढ्ने रणनीति पहिल्याउन पनि सुरक्षा निकायका प्रमुखहरूले आग्रह गरेका थिए ।

कहाँ-कहाँ के सुरक्षा चुनौती छन् र ती चुनैतीलाई समाधान गर्न के गर्नुपर्छ भन्नेबारे प्रदेशस्तरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने प्रस्ताव बैठकमा गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखाले पेस गरेको थियो ।

बैठकमा गृहमन्त्री खाणले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन सम्पूर्ण गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए ।

मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधिसहतिको टोलीले निर्वाचन विशेष सुरक्षा योजना तयार पारेर जिल्ला–जिल्लामा पठाएको छ । त्यसैका आधारमा सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले निर्वाचनको तयारी गरिरहेका छन् ।

गृहमन्त्री खाणले सुरक्षा चुनौती पहिल्याई समाधान गरेर अगाडि बढ्ने रणनीतिका साथ अगाडि बढ्न सुरक्षा निकायलाई निर्देशन दिए ।

समितिमा आएका तीन नयाँ सदस्यलाई स्वागत गरिएको थियो । गृहसचिव विनोदप्रकाश सिंह, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका रथी सरोजप्रताप राणालाई बैठकमा स्वागत गरिएको थियो ।

गृहमन्त्रीको अध्यक्षतामा हुने सुरक्षा समितिमा गृहसचिव, रक्षासचिव, सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *