रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन तिब्रताका साथ पहल गर्छु : प्रस्तावित राजदुत चौहान

रुसका लागि प्रस्तावित राजदूत प्रा.डा.जङ्गबहादुर चौहानले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरूको उद्धारमा पहल गर्ने बताएका छन् । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा छलफलका लागि उपस्थित भएका चौहानले प्रस्ताव गरेको कार्ययोजनामा रुसी सेनामा भर्ती भएका नेपाली युवाहरूबारेको समस्या भएको भन्दै त्यसबारे सबै कुरा प्रस्टरुपमा बाहिर समेत आई नसकेको बताएका छन् ।

‘एउटा जटिल समस्याका रूपमा देखिएको यो विषय सेनासँग सम्बन्धित भएकोले सबै कुरा प्रस्टसँग बाहिर आएको छैन । बिचौलियाहरूको प्रलोभनमा परेर हाम्रा युवाहरू युद्धको भुमरीमा परेका छन्’, उनले कार्ययोजनामा भनेका छन्, ‘तिनीहरूको उद्धारका लागि नेपालको परराष्ट्र मन्त्रालयले आवश्यक संवाद अघि बढाइरहेको सन्दर्भमा उद्धारका लागि हरसम्भव प्रयास हुनु जरुरी छ ।’

उनले रुस र रुसी भाषा ज्ञानका कारण संयोजनकारी भूमिकामा रहेर काम गर्न सहज हुने आफूले ठानेको बताएका छन् । प्रस्तावित राजदूत चौहानले नेपाल–रुस सम्बन्धको प्रारम्भ गौरवशाली रहे पनि विभिन्न कारणवश पछिल्ला वर्षहरूमा त्यसलाई निरन्तरता दिन नसकिएको पनि बताएका छन् । ‘तर, दुई देशबिचको फलदायी सम्बन्ध विस्तारका लागि सम्भावनाका ढोकाहरू प्रशस्त छन् । नेपालको राष्ट्रिय हितमा नेपाल– रुस सम्बन्धलाई अगाडि बढाउन नेपाल सरकारको निर्देशनअनुसार म आफ्नो क्षमतालाई समर्पण गर्न सदा तत्पर रहने छु’, चौहानको प्रतिबद्धता छ ।

‘रुसी सेनाबाट १७५ लाई फर्काइएको छ । ७ जना युक्रेनमा बन्दी छन् । ४३ जनाको मृत्यु भएको छ । ५ जनाको शवको डिएनए परीक्षण भएको छ ।  युद्धमा मृत्यु भएकाहरूको परिवारलाई १ करोड ७० लाख क्षतिपूर्ति दिनुपर्ने अवस्था छ । कतिपयलाई रुसले नागरिकता दिएको र त्यस्तो अवस्थामा फर्काउन नसकिने अवस्था छ । धेरैजसो १ वर्षको करारमा विभिन्न माध्यमबाट रुसी सेनामा पुगेका छन्  । सरकारले पहल गरे पनि सबैलाई फर्काउन कठिन देखिएको छ । भारतीय प्रम नरेन्द्र मोदी स्वयमले रसियामा गएर भारतीय नागरिकलाई फर्काउन खोज्दापनि सबै भारतीयलाई फर्काउन नसकिएको अवस्था छ । मैले रुसबाटै पिएचडी गरेको, रुसी भाषाको जानकार र रुसीसँग चिनजान पनि भएकोले नेपालीहरू रुसी सेनामा जाने नेपालीहरूको समस्या समाधान गर्न पहल गर्छु’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *