विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ।

बुधवार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले सो विधेयक संशोधनसहित पारित गरेको हो। 

सो विधेयक सम्बन्धी समितिको प्रतिवेदनको मस्यौदालाई आवश्यक संशोधनसहित पारित गरिएको समितिकी सभापति विमला सुवेदीले जानकारी दिइन्।

साथै समितिको बैठकले सो विधेयक प्रतिनिधि सभाको आगामी बैठकमा पेश गर्नका लागि सभामुख देवराज घिमिरेलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। 

समितिकी सभापति सुवेदीले भनिन, ‘समितिको आजको बैठकमा पेश भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदनको मस्यौदालाई आवश्यक संशोधनसहित पारित भएको घोषणा गर्दछु।’

बैठकमा समितिका सदस्यहरूले सरकारले दिएको कार्यतालिका अनुसार कानून निर्माण कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले भने,’ सरकारले दिएको कार्यतालिका अनुसार कानून निर्माण गर्ने प्रक्रियालाई बाध्यात्मक बनाउन सकियो भने पनि त्यो अलि व्यवस्थित हुन्छ कि भन्ने मलाई लागेको छ। जस्तै आगामी गाँजा सम्बन्धी विषय हामीले ल्यायौँ  तर त्यो सम्बन्धि नियमनै बनेको छैन। कसरी कार्यान्वयन हुन्छ ? यस्तो विषयमा यति समय भित्र त्यो नियम बनाउनु पर्‍यो भन्ने व्यवस्था हुन आवश्यक छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले तत्काल कुनै विधेयक तर्जुमा गर्नुपरे बाधा नआउने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताइन्। सरकारले ल्याएको कानून निर्माण सम्बन्धी कार्यतालिका तलमाथि गर्न नहुने उनकाे भनाइ थियाे। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *