सरकारविरुद्ध संघर्ष गर्ने तयारीमा छौँ : अग्नि सापकोटा

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सरकारविरुद्ध संघर्ष गर्ने तयारी भइरहेको बताएको छ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागिपरेको जिकिर गर्दै त्यसविरुद्ध सदन र सडक दुवै संघर्षलाई चर्काउने तयारीमा आफूहरु रहेको बताएका हुन्।

मंगलबार पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत उर्लेको भन्दै आफ्नो पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताए।

उनले संविधान संशोधनको नाममा दुई दल सम्मिलित सरकारले जनताको अधिकार खोज्ने चेष्टा गरेकाले त्यसको विरुद्ध जमेर प्रतिवाद गर्ने नीति पार्टीले लिएको पनि बताए।

उनले भने, ‘सरकारप्रति त मैले भनिरहनु पर्दैन– विभिन्न कार्यक्रमहरुमा प्रधानमन्त्री तथा सत्ता साझेदारहरुको नेताका विरुद्ध जनमत उर्लिन थालेको छ। जनताले ठूलो बलिदान गरेर प्राप्त गरेका हक अधिकार छिन्ने कोशिस नगरौँ। बरु त्यसलाई अझ विकास गरौँ। जनताको अधिकार बढाउने, अग्रगमनतिर जाने, परिवर्तनतिर जाने, जनताको अधिकारको झन् विकास गर्ने कुरामा हामी तयार छौँ। जनताको अधिकार खोस्ने कुनै चेष्टा गरिन्छ भने त्यसको विरुद्ध हामी जमेर प्रतिवाद गर्छौं। सदनमा पनि प्रतिवाद गर्छौं। र सडकमा पनि हामी प्रतिवाद गर्छौं। अहिले त्यसको तयारी हामीले गरिरहेका छौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *