‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट लाइसेन्स’, सक्कली कि नक्कली जाँच्नै समस्या

सरकारले जारी गरेका ‘स्मार्ट लाइसेन्स’ को चेकजाँच ट्राफिक प्रहरीबाट हुन्छ तर ती सक्कली वा नक्कली हुन् भन्ने थाहा पाउने प्रविधि नै प्रहरीसँग छैन । ट्राफिक प्रहरीले आँखाले हेरेर लाइसेन्स जाँच गरिरहेको छ । लेखिएको विवरण त प्रहरीले पढ्छ तर सक्कली हो कि नक्कली पहिचान गर्ने विशेष यन्त्र सडकमा खटिने ट्राफिक प्रहरीसँग छैन ।

यातायात व्यवस्था विभागले हालसम्म झन्डै ४० लाख स्मार्ट लाइसेन्स वितरण गरेको छ । प्रविधिका हिसाबले नक्कली बनाउन नमिल्ने गरी सुरक्षित दाबी गरिए पनि कर्मचारीको मिलेमतोमा नै नक्कली लाइसेन्स वितरण भएका छन् । सामान्य चेकजाँचले ती पत्ता लागेका होइनन्, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष अनुसन्धानबाट मात्र पत्ता लागेको हो ।

स्मार्ट लाइसेन्समा चिप्स राखिएको हुन्छ । उक्त चिप्समा लाइसेन्सवाहकको विवरण हुन्छ तर हालसम्म उक्त चिप्स पढ्ने (रिड गर्ने) मेसिन उपलब्ध नहुँदा २०७२ सालदेखि वितरण भएका स्मार्ट लाइसेन्सको सक्कली नक्कलीको विशेष चेकजाँच छैन । विभागका महानिर्देशक उद्धव रिजालले भने, सुरुमा कसरी यसको योजना गरियो थाहै भएन, अब अहिले विश्वासको भरमा चलेको छ चिप्स रिड गर्ने मेसिन नै छैन । वैज्ञानिक तरिकाले चेकजाँच हुन सकेको छैन । चिप्स पढ्न छुट्टै डिभाइस चाहिन्छ ।

चेकजाँचमा खटिएका प्रहरीले नक्कली वा सक्कली शङ्का लागेमा थप अनुसन्धान त गर्न सक्छ तर सडकमै पहिचान गर्न भने सक्दैन । लाइसेन्समा लेखिएको विवरण मात्र चेकजाँच गर्ने गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता विश्वराज खड्काले बताए । उनले भने, स्मार्ट लाइसेन्सको चिप्स पढ्न सक्ने मेसिन हामीसँग छैन । म्यानुअल्ली चेकजाँच हुँदै आएको छ । नक्कली पनि ठ्याक्कै उस्तै भयो भने खुला आँखाले छुट्याउन सकिन्न । शङ्का लाग्यो भने क्रस चेकजाँच गर्ने छुट्टै कुरा हो ।

उक्त समस्या सम्बोधनका लागि अब क्युआर कोड राखेर स्मार्ट लाइसेन्स छाप्ने निर्णय भएको छ । गत साउन ३२ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेशका मन्त्रीहरूसँगको बैठकमा केन्द्रीय तथ्याङ्क (सेन्ट्रल डाटाबेस) यातायात व्यवस्था विभागमा रहने गरी देशभर एउटै मापदण्ड र स्पेसिफिकेसन अनुसार प्रदेशले क्युआर कोडसहित लाइसेन्स छपाइका लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो तर सबै प्रदेश त्यसका लागि तयार नै छैनन् ।

लाइसेन्स छपाइ ठप्प

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने मेसिन बिग्रिएपछि २३ दिनदेखि छपाइ कार्य बन्द छ । मेसिनले कार्ड चिन्ने ‘पर्सनलाइजेसन’ प्रणाली र सफ्टवेयरमा समस्या भएपछि नियमिततर्फको छपाइ बन्द भएको हो ।

जेठमा नयाँ कार्ड ल्याएपछि ‘पर्सनलाइजेसन’ मा समस्या देखिएको थियो । नयाँ कार्ड आएपछि छपाइ बन्द भएको यो दोस्रो पटक हो । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने, सुरुमा तीन लाखप्रति छपाइ भएपछि अहिले पर्सनलाइजेसनमा प्राविधिक समस्याका कारण छपाइ बन्द छ ।  गोरखापत्र दैनिकमा समाचार छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *