एमपक्स नेपालमा पनि आउनसक्छ तर कोभिडजस्तो आत्तिनु पर्दैन : डा पुन

जनस्वास्थ्यविद् डा शेरबहादुर पुनले संसारका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट स्वदेशमा आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् ।

जापानमा पढेका र तालिम लिएका नेपालीको संस्था जाइका एमुनाई एसोसिएसनद्वारा शनिबार आयोजित ‘वर्तमान विश्वमा स्वास्थ्य जीवनसम्बन्धी’ गोष्ठीमा डा पुनले हाल अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स (मङ्की पक्स) नेपालमा पनि आउन सक्ने बताए ।

विगतमा स्वाइन फ्लु र कोभिडको प्रकोप पनि दक्षिण एसियाली क्षेत्रसम्म त्यसैगरी आइपुगेको बताए। ‘कतै देखिएको प्रकोपलाई हामी त्यो देशभन्दा धेरै टाढा छौँ भनेर ढुक्क हुने अवस्था छैन,’ उनको भनाइ थियो ।

यद्यपि मङ्की पक्ससम्बन्धी अहिलेसम्मको चिकित्सा अनुभवले यो कोभिड जत्तिको खतराजनक नभएको देखिएको पनि डा पुनले बताए । यसलाई अहिलेसम्म ठेउला जस्तै छालामा हुने सङ्क्रामक रोगका रुपमा चिकित्सा विज्ञानले बुझेको डा पुनले बताए।

सन् १९५८ मा बाँदरहरुमा देखिएका कारण मङ्की पक्स नाम पाएको यो रोग सन् १९७० मा कङ्गोका एकजना नौवर्षे बालकमा भेटिएपछि मानव शरीरमा पनि सङ्क्रमण हुने कुरा पत्ता लागेको थियो  । ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा आदि यस रोगका लक्षण हुन् । अहिले यो रोग विश्वका ४० देशमा पुगिसकेको छ ।

पछिल्लो समय लामुखुटे नियन्त्रण प्रभावकारी नहुँदा डेङ्गीको समस्या बढ्दै गएको पनि उनले बताए । यसबाहेक हैजाको समस्या भने जार वा बोटलको पानी भन्दै नउमाली खाने बानीले बढाएको देखिएको पनि उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर