परसपुर–गौघाट सडक कालोपत्र : दुईवर्षमा २० प्रतिशत काम

परसपुर–गौघाट सडक खण्डको कालोपत्र निर्धारित समयमा अझै सम्पन्न भएको छैन । मुख्यतः बाँके र बर्दिया जिल्लाको जनताले सो सडकबाट आवतजावत गर्दछन ।  यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिदैछ । तर काम भने करिब २० प्रतिशत मात्र भएको छ ।

सङ्घीय सरकारको लगानीमा बन्न लागेको  नेपालगन्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्र  गर्नको लागि करिब  १४ करोडमा निर्माण कम्पनीसंग सम्झौता गरिएको थियो । समयमा कालोपत्रको काम नहुँदा यहाँका स्थानीयले थप दुःख पाइरहेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका सहित जानकी, खजुरा र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने परसपुर–गौघाट सडक खण्ड हो । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हाल उक्त योजनाको २० प्रतिसतमात्र काम सकिएको छ ।

सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरू केही प्रगति भएको छ । निर्माण कार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेपनि सम्पर्कमै नआउने गरेको उनले बताए ।

उनले भने,‘हामीले समयमै योजना सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई दबाब दिँदै आएका छौँ । कानुनी रूपमा कारबाहीको लागि प्रक्रिया पनि अगाडी बढाएका छौँ । तर प्रगति भने निराशाजनक छ ।’

सम्झौता अनुसार निर्माण कम्पनीले २०७९ वैशाख देखि निर्माण सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने सर्त रहेको छ। परसपुर–गौघाट सडक खण्ड निर्माण ढिलासुस्ती भएको भन्दै यहाँका स्थानीयले आन्दोलन समेत गरेका थिए ।

खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्नु पर्ने दबाब दिँदै आएका छन् ।  २०७४ सालमा सडकको कालोपत्रे निकालेर पिच गर्ने योजना अगाडी सारिएको थियो । तर हाल सम्म पनि उक्त सडकको स्तर वृद्धि हुन सकेको छैन । यसका कारण स्थानीले समस्या भोग्दै आउनु परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर