कपन र लुभुको सयौँ रोपनी जग्गाबारे त्रिवि बेखबर

जग्गा अतिक्रमण भएको विषयमा सरकारी अध्ययन भइरहेका वेला विगतमा त्रिभुवन विश्वविद्यालयलाई दिने घोषणा गरिएको तर हालसम्म भोगचलन नै गर्न नपाएको जग्गाको विषयमा नयाँ तथ्य पत्ता लागेको छ । काठमाडौँ उपत्यकाभित्र रहेको त्रिविको जग्गाको विषयमा अध्ययन गर्ने क्रममा यो तथ्य पत्ता लागेको हो ।

अध्ययनका क्रममा ललितपुर लुभुको ३७५ रोपनी र कपनको २९ रोपनी आठ आना जग्गाको विषय हालसम्म बेखबर छ । जब कि यी दुवै स्थानको जग्गा त्रिविलाई दिने भनिएको सरकारी दस्ताबेजबाट नै पुष्टि हुन्छ।

तत्कालीन मुमा बडामहारानीद्वय कान्ति राज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मी शाहले हालको त्रिभुवन विश्वविद्यालय स्थापनाका लागि ललितपुरको लुभुमा ३७५ रोपनी जग्गा दिनुभएको थियो । २०१३ सालमा आफ्नो निजी बिर्ताका रूपमा रहेको उक्त जग्गा उनीहरूले त्रिवि स्थापना नहुँदै दिने घोषणा गरेका थिए तर अहिले जग्गाको के कस्तो अवस्थामा छ भन्ने विषयमा कसैलाई थाहा छैन।

मुमा बडामहारानीद्वयले जग्गा दिएको विषयमा २०१३ साल असार १९ गतेको गोरखापत्रमा समाचारसमेत छापिएको थियो। असार १७ गतेको ‘डेटलाइन’ भएको तर १९ गते ‘३७५ रोपनी बिर्ता जग्गा त्रिभुवन विश्वविद्यालयका निम्ति श्री ५ मुमाबडामहारानीहरूबाट बक्सियो’ भन्ने शीर्षकमा छापिएको समाचार अध्ययन गरेपछि मात्रै लुभुमा दिइएको जग्गाबारे जानकारी भएको समितिले जनाएको छ।

विश्वविद्यालयको उपत्यकाभित्रको जग्गा अध्ययन तथा अनुसन्धान गर्न सरकारले समिति गठन गरेपछि यो तथ्य उजागर भएको हो। पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिका सदस्य जानकीवल्लभ अधिकारीका अनुसार विभिन्न सरकारी दस्ताबेज अध्ययन गरेपछि मात्रै लुभुमा त्रिविलाई जग्गा दिने निर्णय भएको बारेमा पत्ता लागेको हो ।

समितिका अनुसार उक्त जग्गाको आधिकारिक दस्ताबेज अहिलेसम्म कतै पनि भेटिएको छैन। त्रिविलाई दिने भनिएको तर हालसम्म वास्तविकता पत्ता लाग्न नसकेको लुभुको जग्गा जस्तै अवस्थामा छ काठमाडौं कपनको जग्गा पनि। विद्वत्शिरोमणि हेमराज पाण्डेले कपनमा २९ रोपनी आठ आना जग्गा त्रिविलाई दिने घोषणा गरेको तर वास्तविकता अझै पत्ता नलागेको समितिका सदस्य अधिकारीले जानकारी दिए।आजको गोरखापत्र दैनिकमा समाचार छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *