२२ हजार घरधुरी धाराविहीन

राष्ट्रिय जनगणना–२०७८ अनुसार गुल्मीमा ६६ हजार १२५ घरधुरी रहेकामा २२ हजार ३६९ घरधुरी ‘एक घर एक धारा’ विहीन छन् । दुई नगर र १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा ४३ हजार ७५६ घरमा एक घर एक धारा पुगेको छ भने बाँकी २२ हजार ३६९ घरधुरी पिउने पानीका लागि कुवारपँधेरो धाउने गरेका छन् ।

यहाँका स्थानीयले हिउँदको समयमा गाडीबाट पानी ल्याएर पिउने गरेका छन् भने कुनै स्थानमा पिउने पानीका लागि अझै पनि कुवा र पँधेरो धाउने गरेका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ र २ का माथिल्लो बस्तीका बासिन्दाले हिउँद लागेपछि गाडीबाट पानी ल्याएर पिउनुपर्ने बाध्यता कायमै छ । उक्त समस्यालाई यस आर्थिक वर्षमा समाधान गर्ने गाउँपालिकाले जनाएको छ ।

नगरप्रमुख जीवन खरेलले जिल्लाको मुसीकोट नगरपालिकामा सात हजार ९९ घरधुरी रहेकामध्ये पाँच हजार ६४० घरधुरीमा एक घर एक धारा पुगेको जानकारी दिनुभयो । यस आर्थिक वर्षमा सबै घरधुरीमा धारामार्फत खानेपानी पु¥याउने खरेलको दाबी छ । रेसुङ्गा नगरपालिका–१४, पराल्मीमा १५३ घरधुरी र वडा नम्बर ५ को भुवनपानीमा ३८० गरी ५३३ घरधुरीमा एक घर एक धारा जडान गरिएको नगरपालिकाले जनाएको छ । सदरमुकाम पनि भएकाले अन्य वडामा पहिल्यै खानेपानीको पहुँच पुगेको योजना शाखाका प्रमुख विनोद मरासिनीले बताए।

धुर्कोट गाउँपालिकाका चार हजार आठ सय घरधुरीमा एक घर एक धारा पुगेको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो । कुल पाँच हजार ३८२ घरधुरीमध्ये चार हजार आठ सय घरधुरीमा एक घर एक धारा जडान गर्दा करिब २५ करोड रुपियाँभन्दा बढी खर्च भएको उनको भनाइ छ । बाँकी घरधुरीमा आगामी आवभित्र एक घर एक धारा पु¥याउने लक्ष्य रहेको उनले जानकारी दिए । इस्मा गाउँपालिकाका तीन हजार २४२ घरधुरीमा धारा पुगेको गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो । करिब पाँच हजार घरधुरीमध्ये बाँकी घरधुरीमा पनि एक घर एक धारा पुग्ने प्रक्रियामा रहेको उनको भनाइ छ । तीन हजार २४२ घरधुरीमा खानेपानीका धारा जडान गर्दा करिब १७ करोड रुपियाँ खर्च भएको उनले जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर