सर्पको डसाइबाट दुई जनाको मृत्यु, एक घाइते

कैलालीको गौरीगंगा नगरपालिका–७ महुलिया गाउँमा गतराति सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ।

बालिकाकी हजुरआमा अन्दाजी ७२ वर्षीया रिजु घर्ती मगरलाई सर्पले डसेको र उनको उपचार भइरहेको छ। मूलढोकामा रहेको प्वालबाट राति घरभित्र पसेको करेतको डसाइबाट पाँच वर्षीया बालिका लिजा र ६ वर्षीया काजल घर्ती मगरको मृत्यु भएको वडाध्यक्ष आशाराम डगौरा थारूले जानकारी दिए।

करेतले पहिले ओछ्यानमा सुतेका दुवै बालिकालाई दुईतीन ठाउँमा डसेपछि बालिकाकी हजुरआमा रिजुको काँधमा डसेको थियो। शरीरमाथि हिँडिरहेको थाहा पाएपछि वृद्धा रिजुले सोही सर्पलाई हातले समातेर फ्याँक्ने वेला उनको हातमा समेत डसेको घटनास्थल पुगेका डगौरा थारूले बताए।

‘सुतिरहेका बालिकालाई सर्पले डसेको रहेछ भन्ने थाहा नहुँदा घाइते भएकी वृद्धालाई मात्र राति नै नेपाली सेनाको कैलालीको बडैपुरस्थित सर्पदंश उपचार केन्द्र पुर्‍याइएको थियो’, वडाध्यक्ष डगौरा थारूले भने, ‘पछि दुई बालिकाले घरमा अचानक बान्ता गर्न थालेपछि उनीहरूलाई पनि सोही सर्पले डसेको थाहा भएको हो।’

घाइते वृद्धालाई सर्पदंश उपचार केन्द्रबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ। मृतक बालिका घरमा आफ्ना हजुरआमा र हजुरबासँगै बस्ने गरेका थिए। बालिकाका बुबाको पहिले नै निधन भइसकेको र आमा कामको खोजीमा जिल्ला बाहिर रहेको बताइएको छ।

गर्मीमा तराईका जिल्लामा विषालु सर्पको डसाइले धेरै व्यक्तिको मृत्यु हुने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बताउँछन्। अस्पतालमा सर्पको डसाइका बिरामीको निःशुल्क उपचार हुने गरेको छ। खानाको खोजीमा मानिसको घर वरिपरि आइपुग्ने सर्प काठ, इँटा वा ढुङ्गाको थुप्रो, दुलो, झाडी भएको ठाउँमा लुक्छ।

सर्पको टोकाइबाट हुनसक्ने जोखिम कम गर्न धनगढी क्षेत्रमा उपमहानगरपालिका कार्यालयको प्रहरी टोली (रेस्क्यू टोली)ले नगरवासीको घरपरिसरमा फेला पर्ने सर्पलाई समातेर जङ्गलमा लगेर छाड्ने गरेको छ। टोलीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र खड्काले भने‚ ‘हालको गर्मी मौसममा बढीमा दैनिक आठवटासम्म सर्प समातेर जङ्गलमा छाड्ने गरेका छौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर