जोमसोम खेलमैदान २५ वर्षपछि स्तरोन्नति

मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ। गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड फुटबल सञ्चालन गर्न सकिने पूर्वाधार तयार पारिएको हो।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको १६ लाख बजेटबाट ६० मिटर लम्बाई र ५० मिटर चौडाई भएको खेलमैदान र पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष निकेश शेरचनले बताए।

‘विसं २०५५ मा निर्माण भएको खेलमैदान स्तरोन्नति नहुँदा खेलकुद गतिविधि सञ्चालन गर्न समस्या भएको थियो’, उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट खेलमैदानलाई व्यवस्थित र पूर्वाधार तयार पारेर प्रयोगमा ल्याइएको छ।’

एक सय १५ मिटर लामो र ७० मिटर चौडाई भएको खेलमैदानको सेभेन ए साइडको मापदण्ड अनुसारको भागमा माटो र बालुवा मिसाएर  निर्माण गरिएको छ।

डिलतर्फ तारजाली, खेलमैदानको वरपर नाली र प्रवेशद्वार निर्माण गरिएको अध्यक्ष शेरचनले बताए। जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रहेको उक्त खेलमैदान स्तरोन्नति भएपछि विद्यालय, क्लव र विभिन्न संघ संस्थाले खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ।

मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले जिल्ला सदरमुकाममा व्यवस्थित खेलमैदानको आवश्यकता महसुस गरेर प्रदेश सरकारबाट योजना भित्र्याइएको बताए।

गण्डकी प्रदेश सरकारले गत आवमा ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत २५ वटा खेलमैदान योजना कार्यान्वयन गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर