चार सय हेक्टर नेपाली भूभाग डुबान

सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण जिल्लाको करिब चार सय हेक्टर धान खेती डुबानमा परेको छ । सीमा क्षेत्रसँगै भारतले निर्माण गरेको बजाहा बाँध, महलीसागर बाँध र सिसवा बाँधका ढोका नखोलिँदा नेपालतर्फको धान खेत डुबानमा परेको हो । वर्षाका कारण मायादेवी र यशोधरा गाउँपालिकाका एक दर्जन गाउँका साढे तीन सयभन्दा बढी कृषकको चार सय हेक्टरमा लगाइएको धान खेत डुबानमा परेको छ । तीनदेखि पाँच किमी दक्षिणका खेत पानीमा डुबेपछि धान गलेको छ ।

भारतीय पक्षले हिउँदमा बाँधको ढोका खोल्ने र वर्षामा बन्द गर्ने गरेको कृषक बताउँछन् । बाँधमा रहेका २८ वटा ढोका नखोलिँदा खेती डुबानमा परेको कृषक बताउँछन् । मायादेवी गाउँपालिका–४, तुल्सीडिहवाका जयबुद्ध यादवका अनुसार वर्षापछि बाँधको ढोका नखोलिँदा तीन सय बिघामा लगाइएको धान बाली पानीले डुबेको बताए । उनले भने, गत असारमा धान रोपका थियौँ, धान गलेर साउनमा फेरि लगायौँ । फेरि धान खेत डुबानमा छ । खेतको आली डुबेको छ, केही दिनमै पानीको निकास नगरिए नेपाली किसानले ठुलो क्षति बेहोर्नुपर्ने उनको भनाइ छ । सीमा क्षेत्रको भारतीय भूभागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाँधको ढोका बन्द गरिँदा सो क्षेत्रमा रहेको ५४२र४७ नम्बरको सीमास्तम्भसमेत पानीमा डुबेको छ ।

भारतको चिल्हिया थाना अन्तर्गत पर्ने सो तालको आधा भाग नेपाल र आधा भारततर्फ पर्छ । बजहा तालमा पानी जम्मा गरेर भारतले सिँचाइ गर्ने गरेको छ । तालमा २८ वटा फलामका ढोका राखेर बाँध बनाइएको छ । बजहा क्षेत्रमा भारतले १० किलोमिटर क्षेत्रवरिपरि बाँध बनाएको छ । बाँधलाई बाटोका रूपमा समेत प्रयोग गर्ने गरिएको छ । २८ वटा ढोका बन्द गरिँदा जमेको पानी निकास हुन पाएको छैन ।

मायादेवी गाउँपालिकाका प्रमुख वलिउद्दिन मुसलमानका अनुसार सीमा क्षेत्रको बजहा बाँधले बर्सेनि नेपाली कृषकलाई पीडा दिँदै अएकाले यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । वर्षा र गर्मीमा तालमा कति पानी राख्ने भनेर प्राविधिकसँग सल्लाह गरी स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने उनले बताए । पीडितको माग सम्बोधन गरी स्थानीय प्रशासनले भारतीय समकक्षीसँग कुरा राखेर मौसम अनुसारको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । उनले बाँधका बारेमा सङ्घीय र प्रदेश सरकार तथा प्रशासन कार्यालयलाई हरेक वर्ष स्मरण गराए पनि समस्या समाधान नभएको गुनासो गरे ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल बजहा बाँधका कारण डुबानले कृषक समस्यामा परेको कुरा कतैबाट नआएको बताउँछन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर