‘बिउ उत्पादनका लागि नेपाल उत्कृष्ट गन्तव्य’

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको संवर्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्ने बताएका छन् । काठमाडौँमा बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बिउ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउबिजन उत्पादनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै मन्त्री अधिकारीले यसका लागि सरकारी, सहकारी र निजी क्षेत्रबिच सहकार्य आवश्यक छ भने ।

मन्त्री अधिकारीले खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितताका लागि कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि नै पहिलो सर्त भए पनि जलवायु परिवर्तन र खाद्य तथा कृषि प्रणालीमा आएको व्यापक परिवर्तनले हाम्रो कृषि र कृषि प्रणाली प्रभावित भइरहेको उल्लेख गरे ।

उहाँले कृषि क्षेत्रमा बदलिँदो परिस्थितिको सामना गर्दै कृषि उत्पादनमार्फत खाद्य तथा पोषण सुरक्षा सुनिश्चितताका लागि उन्नत जातका गुणस्तरीय बिउबिजनको प्रयोग र विस्तारको आवश्यकतामा जोड दिए ।

बिउबिजन क्षेत्रमा नेपालमा विद्यमान सम्भावनाको खोजी तथा सदुपयोग गर्न, प्रविधि विकास तथा हस्तान्तरण गर्न र साझेदारी तथा सहकार्यमा बिउ उत्पादन कार्यमार्फत नेपालको खाद्य सुरक्षा तथा आयात प्रतिस्थापनमा सम्मेलन फलदायी हुने अपेक्षा व्यक्त गरे । कृषि मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल बिउ व्यवसायी सङ्घलगायतको सहकार्यमा सम्मेलनको आयोजना गरिएको हो ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर