सुत्न नदिएको निहुँमा ज्ञानचन्द्रको विभत्स हत्या

सुनसरीको गढी गाउँपालिका– ६ घर भएका ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको ‘हत्यारा’ पत्ता लागेको छ । सोही गाउँपालिका २ सखुबारेका ३० वर्षीय चन्दन ऋषिदेवले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

रिङ बनाउने व्यवसायी ज्ञानचन्द्रको गत आइतवार विभत्स तरिकाले हत्या भएको थियो ।

हत्या आरोपी चन्दन बुवा–आमाको मृत्यु भएपछि गाउँघरमा मागेर हिँड्ने गरेका थिए ।  चन्दन व्यवसायी ज्ञानचन्द्रले रिङ बनाउने ठाउँमा सुत्न आउने गरेका थिए । उनलाई ज्ञानचन्द्रले लखेट्ने गरेको पाइएको प्रहरीले जनाएको छ । आइतवार राति पनि सुत्न नदिएकै रिसमा चन्दनले फरुवाले पटक–पटक प्रहार गरेर ज्ञानचन्द्रको हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

‘हत्या हुनुभन्दा दुई–तीन दिन अगाडिदेखि ज्ञानचन्द्रले चन्दनलाई सुत्न नदिएर लखेट्ने गरेका छन् । आइतवार राति पनि त्यहाँबाट गालीगलौज गरी हटाएपछि आक्रोशित भएर उनको हत्या गरेको देखिन्छ,’ उनले भने, ‘राति चन्दनलाई लखेटेपछि ज्ञानचन्द्र रिङ बनाउने घरको आँगनमा घोप्टे परेर सुतेका रहेछन् । सुतेकाे माैका छाेपी फर्केर आएर आँगनमा रहेको फरुवाले पटक–पटक प्रहार गरेर हत्या गरेको पाइएको छ ।’

हत्यामा संलग्न चन्दन एकोहोरो स्वभावको रहेको प्रहरीले जनाएको छ ।  ज्ञानचन्द्रको रिङ बनाउनका लागि लिजमा लिएको जस्तापाताको छानो भएको दुईकोठे घर रहेको छ । प्रहरीका अनुसार यही स्थानलाई चन्दनले आफ्नो स्थायी बासस्थान ठान्ने गरेका थिए ।

दुई टुक्रा भएको अवस्थामा ज्ञानचन्द्रको शव सोमवार बिहान भेटिएको थियो । गढी गाउँपालिका २ थलाहामा उनको शव भेटिएको थियो । थलाहामा शरीरको भाग भेटिएको थियो भने ५० मिटर उत्तर–पश्चिममा टाउको भेटिएको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *