साउनमा ५९ उद्योगबाट साढे ८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो महिनामै ५९ वटा विदेशी कम्पनीले नेपालमा उद्योग दर्ताको अनुमति पाएका छन् ।

उद्योग विभागको तथ्यांकनुसार गत साउनमा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागले हालसम्ममा ५ खर्ब २० अर्ब ४४ करोड ८४ लाख विदेशी लगानी प्रतिबद्धता आएको जनाएको छ ।

साउनमा दर्ता भएका ५९ वटा उद्योगमध्ये ५७ साना हुन् भने दुई ठूला उद्योग हुन् । यी उद्योगले ३ सय २३ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । वैदेशिक लगानीमा दर्ता भएका यी उद्योगले ३ सय २३ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, गत आव २०८०–८१ देखि चालू आवको पहिलो महिना साउनसम्म कुल ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ वैदेशिक लगानीका लागि प्रतिबद्धता आएको छ । विगत १३ महिनाको अवधिमा ६ हजार ३ सय २६ साना तथा ठूला उद्योगले दर्ताको अनुमति पाएका छन् । यिनीहरूले ३ लाख ३४ हजार ६ सय २४ जनालाई रोजगारी दिनसक्ने उल्लेख छ ।

उद्योग विभागका अनुसार साउन महिनामा आएको प्रतिबद्धताको ७३ प्रतिशत हिस्सा पर्यटन उद्योगमा रहेको छ । सेवा क्षेत्रसम्बन्धी उद्योगको हिस्सा १६ प्रतिशत र कृषि उद्योगको हिस्सा ७ प्रतिशत रहेको छ । यसैगरी, प्रशोधनका लागि ३ प्रतिशत र आईटी उद्योगका लागि १ प्रतिशत हिस्सा रहेको विभागले जनाएको छ ।

विभागले साउनमा मात्रै २ सय ८ जना लगानीकर्तालाई नेपालमा उद्योग सञ्चालनका लागि बिजनेस भिसाको सिफारिस गरेको छ । यसैगरी, ५५ जना प्रतिनिधिलाई पनि भिसा सिफारिस गरिएको छ । उनीहरूसँगै ५८ जना डिपेन्डेन्टलाई पनि भिसा दिएको जनाइएको छ ।

साउनमा ११ करोड ४३ लाख ७९ हजार रुपैयाँ रोयल्टीमार्फत बाहिरिएको छ । गत वर्षको साउनमा ४९ करोड ९४ लाख ५७ हजार रुपैयाँ रोयल्टीमार्फत बाहिरिएको थियो । विभागका अनुसार २ लाख ५७ हजार अमेरिकी डलर पनि रोयल्टीमार्फत बाहिरिएको छ । यसैगरी, ३४ लाख २४ हजार भारतीय रुपैयाँ पनि रोयल्टीमार्फत लगिएको छ । साथमा १० हजार २ सय युरो पनि बाहिरिएको छ ।

सेवा शुल्कका रूपमा ३८ करोड ४ लाख २७ हजार रुपैयाँ पनि बाहिर लग्न उद्योग विभागले स्वीकृति दिएको छ । सेवा शुल्कबापत २७ लाख ३४ हजार अमेरिकी डलर र ३ लाख ३ हजार भारतीय रुपैयाँ पनि बाहिर लगिएको छ ।

उद्योग विभागका अनुसार वैदेशिक लगानीका लागि साउनमा ३१ वटा कम्पनीले अटोमेटिक रुटबाट स्वीकृति पाएका छन् । अटोमेटिक रुटबाट आएका ३१ वटै कम्पनी साना प्रकारका छन् । जसमा उत्पादनमूलक २, पर्यटनमूलक ४, सेवामूलक २, पूर्वाधारमूलक १ र सूचनाप्रविधिमूलक २२ वटा छन् । यी ३१ उद्योगका लागि ५९ करोड ७५ लाख ६० हजार रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । जसमा उत्पादनमूलकका लागि ७ करोड ५० लाख, पर्यटनमूलकका लागि १४ करोड, सेवामूलक उद्योगका लागि १६ करोड, पूर्वाधारका लागि २ करोड र सूचना प्रविधि उद्योगका लागि २० करोड २५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

गत वैशाखमा भएको लगानी सम्मेलनमार्फत स्वचालित मार्गबाट लगानी स्वीकृत हुुने प्रणालीको कार्यान्वयन आएको थियो । १५ असोज २०८० मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ५० करोड रुपैयाँसम्म कुल पुँजी भएका विदेशी लगानीका परियोजना अनलाइनबाट स्वीकृत गर्ने निर्णय भएको थियो । सोहीनुसार स्वचालित मार्गबाट लगानी भिœयाउने कार्यक्रम गत वैशाख दोस्रो सातादेखि कार्यान्वयनमा आएको थियो ।

आव २०८०–८१ मा खुद ८ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको थियो । नेपाल राष्ट्र बैंक वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आवको तुलनामा गत वर्ष ३६ दशमलव १ प्रतिशतले बढी एफडीआई भित्रिएको हो ।

कुल ८ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ विदेशी लगानी भित्रिए पनि ७ करोड ३९ लाख रुपैयाँबराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ८ अर्ब ४० करोड रुपैयाँ देखिएको राष्ट्र बैंकको तथ्यांक छ ।

गत वर्ष अटोमेटिक रुटबाट १ सय ३९ वटा उद्योगमा ८ अर्ब ११ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । यस्तै, अप्रुभल रूटबाट ४ सय ७ उद्योगमा ६१ खर्ब ९० करोड ४५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *