योगी पाइलट बाबाको निधन

भारतका चर्चित र विवादरहित योगी पाइलट बाबाको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन अस्पतालमा मंगलबार दिउँसो २-३ बजेको बीचमा  उनको निधन भएको उनकाे आश्रमले जानकारी दिएको छ ।

बाबाका निजी चिकित्सक डा. अनिल मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा ३८ दिनसम्म आइसियुमा राखेर उपचार गरिएको थियो ।

८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

भारतको विहार राज्‍यको सासाराम भन्‍ने स्थानमा सन् १९३८मा जन्मिएका पाइलट बाबाको वास्तविक नाम कपिल सिंह हो । सन् १९५७ सम्म उनी  भारतीय वायु सेनामा कार्यरत थिए ।

उनले १९६२, १९६५ र १९७१ मा बहादुरीपूर्वक चीन, पाकिस्तान युद्धमा भाग लिएका थिए ।  उनले भारत सरकारबाट वीर चक्र, विशिष्ट सेवा मेडलका साथै कम उचाइमा लडाकू जहाज उडाएर कीर्तिमान राखेका थिए ।

उनले बीएचयूबाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए । उनले १५ वर्षसम्म भारतीय विमान सैनिकको रुपमा काम गरे विङ कमाण्ड सम्हालेर अवकाश लिएका थिए ।

बाबाका नैनीताल, हरिद्वार, सासाराम, उत्तरकाशी, गंगोत्री, ऋषिकेश (रायवाला) मा आश्रम छन्। उनले आफ्नो गुरुस्थली त्रिखण्डीमा पनि आश्रम बनाउन सुरु गरेका थिए तर कोरोनाकालले गर्दा आश्रम निर्माणमा व्यवधान आयो। त्रिखण्डीमा निर्माणाधीन आश्रमलाई द्रूत गतिले सम्पन्न गराउन उनी १ वर्ष पहिले वैशाख १६ गते नेपाल आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *