राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्रलाई चलायमान गर्नु सरकारको उद्देश्य : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली कांग्रेस– नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विगत डेढ वर्षको अवधिमा सत्ता समीकरण फेरिरहँदा पुँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको बताए।

उनले विगतको सरकारले सुशासन दिन नसकेको र विधिको शासन पनि चलाउन नसकेको भन्दै निराशातिर गइरहेको मुलुकलाई आशामा बदल्नका लागि दुई ठूला पार्टीको गठबन्धनमा सरकार बनेको दाबी गरे।

विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउन तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि अहिलेको सरकार गठन भएको उनको भनाइ थियो।

त्यसैगरी देशमा देशी, विदेशी लगानीको वातावरण बनाएर बढी रोजगारी सिर्जना गर्ने पनि सरकारको उद्देश्य रहेको उनले उल्लेख गरे। गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ पार्ने गरी संविधान संशोधन गर्ने कुरा पनि सरकारको एजेण्डा रहेको बताए।

उनले देशमा प्रशस्त सम्भावनाहरु छन् भन्ने सन्देश दिने गरी सरकारले काम गर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर