परराष्ट्रमन्त्री आरजु राणा देउवा नयाँदिल्लीमा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँदिल्ली पुगेकी छिन्।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा. राणा आज बिहान साढे ११ बजे भिस्तारा एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेकी थिइन्।

परराष्ट्रमन्त्री राणालाई दिल्लीमा भारतीय विदेश मन्त्रालयका उत्तरी डिभिजन प्रमुख अनुराग श्रीवास्तव, नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापालगायतका अधिकारीले स्वागत गरे।

परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा उनको भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग सोमबार भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।

मन्त्री डा. राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन्। उनी ६ भदौमा स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *