छायादेवी सेन्टर : कहिले के-के भए ?

ठमेलको मुटुमै रहेको एतिहासिक कमलपोखरी मासेर छायादेवी सेन्टर बनाउन पृथ्वीबहादुर पाँडेले सत्ता शक्तिको हस्तक्षेपकारी भूमिकाबाट हत्याउन सफल भएको देखिन्छ । सदियौं पुरानो पुरातात्विक (धार्मिक र सांस्कृतिक) महत्वको स्थल कब्जा गर्न सत्ता र षड्यन्त्रको कसरी प्रयोग गरिँदो रहेछ भन्ने छायादेवी सेन्टर एक उदाहरण हो ।

सत्ता र शक्तिबाट पालितपोषित व्यवसायी र आफ्नो पहिचान स्थापित गर्न लागिपरेका नेवार समुदायबीच चलिरहेको संघर्ष एतिहासिक कमलपोखरीसँग जोडिन्छ । कमलपोखरीको विषय उठाउँदा १ सय १७ वर्षअघिको इतिहास केलाउन जरुरी छ ।

यो छाया सेन्टरको विवाद बुझ्न पहिला ठमेल–२९ स्थित राणाकालीन केशरमहल दरबारसँगै जोडिएको लिच्छवीकालीन विक्रमशील महाविहारको विषय बुझ्न जरुरी छ । महाविहार जसलाई ‘थँ वहिल’ पनि भनिन्छ, सम्मुख रहेको धार्मिक र सांस्कृतिक महत्वको कमलपोखरी मिचेर बनाइएको छाया सेन्टर अहिले विवादको केन्द्रमा रहे पनि यस पुरातात्विक स्थलको ऐतिहासिक वैभवता बुझ्न जरुरी रहेको छ ।

इतिहास बुझ्दा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र यस विहारमा जन्म–मरण संस्कार बज्राचार्यले गर्ने गरेको पाइन्छ । १ सय ५२ घर परिवार सदस्य रहेको प्रधानहरूले श्री सिंह सार्थवाहक गरुड भगवान् गुठीअन्तर्गत विक्रमशील महाविहारको रेखदेख गर्दै आएका थिए । डंगोल र महर्जन समुदायले विहारको सरसफाइ र संरक्षणमा योगदान दिन्छन् ।

कपाली समुदायले जात्रा–पर्व र सांस्कृतिक मेलामा बाजागाजा बजाउने कार्य गर्छन् । नङ काट्ने काम नाउनी र मूल देउताको पूजा ‘पाँचथरी श्रेष्ठ’ले सम्पादन गर्छन् । बौद्ध धर्मावलम्बीले यस विहारमा प्रज्ञा पारमिताको सूत्रपाठ गर्ने परम्परा छ । प्रधान परिवारका पुर्खा सिंह सार्थवाहले पुनर्निर्माण गरेको यस विहारमा प्रधान खलकले मूर्ति स्थापना गरी कुल देवताका रूपमा उनको पूजाआजा गर्दै आइरहेका छन् । श्री सिंहसार्थ वाहु गरुड भगवान् गुठीका सदस्य मधुमम प्रधानका अनुसार, थँ वहिल अपभ्रंश हुँदै ठमेल नामकरण भएको ठानिन्छ ।

थँ वहिल कान्तिपुरका संस्थापक राजा गुणकामदेव (विसं १०४३–५०)ले आजभन्दा हजार वर्षअघि बसालेको अधिकांश वंशावलीमा पाइएको इतिहासविद् भुवनलाल प्रधानले मधुपर्क (अंक २४, असोज २०४८)मा प्रकाशित ‘थँबहिल अर्थात् ठमेलको ऐतिहासिक प्राधान्य’ लेखमा उल्लेख गरेका छन् । भारतको विक्रमशील महाविहारबाट आई यस विहारको शैक्षिक र भौतिक विकासमा टेवा दिएकाले अतिशाको सम्मानमा थम विहारलाई विक्रमशील महाविहार नामकरण गरिएको भागवत नरसिंह प्रधानद्वारा थँ वहिलउपर लेखिएको ‘कमलपोखरी भाग–१’ पुस्तकमा उल्लेख छ ।

ऐतिहासिक कमलपोखरी मासेर शक्तिको आडमा बनेको छाया सेन्टर सत्ता र शक्तिको आडमा नक्कली मोही खडा गरेर स्वार्थी समूहले आफ्नो नाममा बनाएको पाइएको छ । छाया सेन्टर बन्नुअघि सो ठाउँको ऐतिहासिक कमलपोखरी रहेको विभिन्न तथ्य र प्रमाणले प्रस्ट पारेको छ ।

ऐतिहासिक पोखरीलाई कसरी तिकडम गरेर व्यक्तिको नाममा बनाइयो
जीतशमशेर राणाबाटा सुरु भएको कमलपोखरी कब्जा गर्ने नियतले यो पोखरीलाई विस्तारै व्यक्तिको बनाउन सुरु गरेको पाइन्छ । जीतशमशेरले व्यक्तिको नाममा बनाउन गरेको तिकडम अहिले छायादेवी कम्प्लेक्सको स्वरूप धारण गरेको हो । भण्डारखाल घटनामा मारिएका काजी नरसिंङ गुरुङको जग्गामा बनाइएको दरबार भाई जित शमशेरबाट किनेपछि त्यो दरबार चन्द्रशमशेरले छोरा केशर शमशेरलाई उपहारमा दिए ।

सो दरबारलाई केशरमहल नामकरण गरियो । जितशमशेरले विसं १९५८ मै कमलपोखरीको ३ रोपनी जग्गा दरबारको कम्पाउन्डभित्र पार्ने काम भयो । जसबापत उनले ठमेलबाट धेरै पर ललितपुर इमाडोलमा तीन रोपनी जग्गा सट्टा भर्ना दिएका थिए ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले पहिला पक्षबाट हेरेको मुद्दा अहिले विपक्षबाट हेरे
छायादेवी सेन्टर विवादको विषयमा पहिला शम्भु थापाको ल फर्ममा काम गर्ने नरेन्द्र दाहालले पहिला एतिहासिक कमलपोखरी मास्न पाइँदैन भनेर प्रतिउत्तर लेखेकोमा अहिले तिनै पाँडे समूहको तर्फबाट प्रतिउत्तर लेखेको पाइएको छ । यसरी एउटा मुद्दामा पहिला पक्षबाट र पछि विपक्षीबाट बहस गर्न मिल्दैन । तर, २०५५ सालमा कमलपोखरी मास्नु हुँदैन भनेर दिएको प्रतिउत्तर र अहिले छायादेवी मास्न पाइँदैन भनेर दिएको प्रतिउत्तरले स्वार्थको द्वन्द्व देखिएको छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले त्यतिबेला कमलपोखरी जोगाउनुपर्छ भनेर हाम्रो तर्फबाट सबै कागजपत्र अदालतमा पेस गरेका थिए तर अहिले उनै थापाको ल फर्मबाट छायादेवी सेन्टरका तर्फबाट बहस हुनु दुःखको कुरा भएको एक अभियन्ताले बताए । अदालतमा बहसको सिलसिलामा वरिष्ठ अधिवक्ता थापाले छायादेवी सेन्टरको विवाद आफूले पहिला पनि हेरेको जानकारी दिएका थिए, भागवत नरसिंह प्रधानले भने, ‘पक्ष र विपक्ष कसको तर्फबाट हेरेको भनेर उनले नभनेपछि बहस गरे ।’

एउटा मुद्दामा राय सुझाव मात्रै दिँदा नै अर्को पक्षबाट मुद्दा हेर्न मिल्दैन भनिन्छ तर वरिष्ठ अधिवक्ता थापाले पहिला आफैंले हेरेको मुद्दामा विपक्षका तर्फबाट मुद्दामा बहस गर्न केले प्ररित ग¥यो सोचनीय विषय बनेको छ ।

कहिले के भए ?
– १९७७ सालमा केशर शमशेरबाट कमलपोखरी लिने काम गरियो
– गुठीका तत्कालीन बहिदान डिल्लीसिंह प्रधानलाई लेखिएको पत्रमा पोखरीको डिलमा रहेको जग्गाको सट्टाभर्ना गरे र पोखरीबापत मोरु १ सय २५ गुठीलाई बुझाउने उल्लेख छ । त्यतिबेलादेखि नै यो पोखरीको जग्गाको विषयमा विवाद थियो
– २०२५ सालको अभिलेखनुसार केशर शमशेरको मृत्युपछि पर्खालभित्र पारेको सो पोखरीको सम्झौताबापत १ सय २५ रुपैयाँ तिर्न छाडियो
– केशर शमशेरको मृत्युपछि २०२७ सालबाट केयुर शमशेरले सो पोखरी हडप्न सुरु गरेपछि सोविरुद्ध अदालतमा मुद्दा मामिला सुरु भयो
– सर्वोच्चले ३ पुस २०३३ मा कमलपोखरी र त्यसको डिल कायम हुनुपर्ने फैसला भयो
– ८ माघ २०३३ मा गुठियार, केयुर शमशेर र गुठी संस्थानबीच सर्वोच्च अदालतमा मिलापत्र भई जग्गाको बहाल दिने सहमति
– २०३९ सालको जग्गाधनी पुर्जामा पोखरी उल्लेख ड केशर शमशेरकी बुहारी अम्बिका राणाको सक्रियतामा २०३९ सालमा मोही दर्ता
– २०४२ सालको फिल्डबुकमा पनि पोखरी उल्लेख
– २०३९ सालमा नक्कली मोही बनाएर कित्ताकाट भएको जग्गा बिना पौड्याल र सुधा पौड्यालका नाममा राजीनामा पास भयो
– २०३९ सालमै अम्बिका राणाले भाइ शंकरप्रसाद शाहको नाममा पास भयो ड तीनपटक भन्दा बढी पास गरेपछि जग्गा व्यक्तिको नाममा कायम गर्न प्रपञ्च रचियो
– २०४४ सालमा तत्कालीन श्री ५ को सरकारका नाममा जग्गा आएको देखिन्छ ड २०४७ सालमा गुठी लगत तथा तहसिल कार्यालयले रैतानी गरियो
– गुठी संस्थानले राजगुठीको जग्गा व्यक्तिको नाममा रैतान गरेको भन्दै निर्णय सच्याएर रैतानी रद्द गरी पुरानै अवस्थामा फर्कायो
– अम्बिका राणा अदालत गएपछि अदालतबाट रैतानीको पुरानो निर्णय सदर
– २०६२ सालमा गुठियार र राणाबीच विवादास्पद सम्झौता भई गुठीको सबै पर्व परम्परा सञ्चालन गर्न १ करोड ५० लाख रुपैयाँ दिने र गुठियारले हकदाबी छाड्ने विवादास्पद सहमति
– २०६३ सालमा सुरेशाय हाउजिङलाई जग्गा बिक्री ड २०६४ सालमा सुरेशायले कित्ता नम्बर २४१२ र शंकर शाहले कित्ता नम्बर १६१६ र १६१८ को विवादास्पद जग्गा प्रतिमा पाँडेलाई बिक्री गरेको मालपोत कार्यालयको रेकर्डमा उल्लेख
– पाँडेको नाममा जग्गा पुगेपछि १७ माघ २०६४ मा छायादेवी कम्प्लेक्स प्रालिका नाममा पास गरेर छाया कम्प्लेक्स निर्माण

यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *