समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर हुँदा अपराध बढ्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताएका छन् ।

शनिवार मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरु कमजोर भएको बताएका हुन् । उनले यस प्रकारको अदृश्य वन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका बताए । उनले समाजलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरुको प्रवद्र्धन गर्नुपर्ने बताए । मानिसहरु स्वयं नैतिक वन्धनमा नबाँधिए कानूनलाई जति संशोधन गरेपनि अपराध न्युनिकरण नहुने उनको भनाई छ । उनले दण्ड र सजायले मात्रै अपराधको अन्त्य गर्न नसक्ने बताए ।

उनले भने –‘दण्ड, सजायले मात्रै समाज चल्दैन । समाज सामाजिक प्रवन्धहरुले चल्छ । प्रहरी, अदालत, अपराध भइसकेपछि अनुसन्धान गर्नेले अथवा अपराध भइसकेपछि अभियोजन गर्नेले, अभियोजन भइसकेपछि बहस गराएर सुनेर फैसला गर्ने निकायहरुले रक्षा नै गर्न सक्दैनन् । शान्ति, सुव्यवस्थाको पनि रक्षा गर्न सक्दैनन् । यदि नागरिक सचेत भएनन् भने । नागरिकले आफ्नो दायित्व बुझेन भने । प्रजातन्त्र भनेको त नागरिक समाजकै सरकार हो, शासन हो । व्यवस्था हो । त्यो कुरा नबुझेर यो सरकार मेरो हो । यो शासन मेरो हो । यो प्रणाली मेरो हो भन्ने बुझेन भने प्रहरीले केही काम गर्न सक्दैन । अदृश्य वन्धन जुन हुन्छ समाजलाई पथप्रदर्शन गर्ने, सुव्यवस्थासाथ चलाउने । ति अदृश्य वन्धनहरु कमजोर भएका छन् । नैतिक वन्धनहरु कमजोर भएका छन् । वाचा वन्धनहरु कमजोर भएका छन् । सामाजिक वन्धनहरु कमजोर भएका छन् । त्यसकारण अहिले मुद्दा नै मुद्दा भएका छन् । किनभने यि अदृश्य वन्धनहरु कमजोर भए । पहिले पहिले भगवानले देखिराखेको छ भन्ने मान्छेलाई पथ्र्यो । अहिले भगवानले देखिराखेको भन्ने मान्दैन उसले । कसैले पनि देखेको छैन भनेपछि जे गरेपनि हुन्छ भन्ठान्छ । हरेक ठाउँमा प्रहरी पुगेर कसरी हेर्छ त रु त्यो त हेर्दैन । इमानबाट चल्ने अदृश्य वन्धनहरु समाजका हुन्छन् । तिनीहरुबाट चल्ने परिपाटी हामीले नैतिक वन्धन, सामाजिक, सांस्कृतिक वन्धन, वाचा वन्धन, लिखतका वन्धन यस्ता वन्धनहरुलाई प्रमोट गर्नुपर्ने आवश्यकता देख्छु । यो शिक्षा, मनोवैज्ञानिक उपचार लगायका प्रश्नहरुमार्फत गरिने कुरा हो । यसो नगर्दाखेरी हामी जति कानुनमा संशोधन गरौँ । जेसुकै गरौँ, फेरि समस्या जति जेल बनाएपनि नपुग्ने अवस्था जस्तो बन्नसक्छ । यतापट्टी जनचेतनाको अभिवृद्धितर्फ, अपराधिक मनोवृत्ति घटाउने र निर्मुलनतर्फ ध्यान जानुपर्ने देख्छु ।’

प्रधानमन्त्री ओलीले अपराधिक मनोवृत्ति घटाउनका लागि जनचेतना जगाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर