साफ यु–२० च्याम्पियनसिपमा नेपालसहित तीन राष्ट्रको उपाधि जित्ने दाबी

नेपालसहित सहभागी ६ राष्ट्रले साफ यु–२० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गर्दै आफूहरू तयार रहेको बताएका छन्।

आइतवारबाट नेपालमा साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप शुरु हुँदै छ। नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको शुरुवात गर्दै छ। दशरथ रंगशाला खेल्नयोग्य नभएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तिम समय खेल स्थल सारेको हो।

शनिवार भएको पत्रकार सम्मेलनमा डिफेन्डिङ च्याम्पियन भारतसहित नेपाल र बंगलादेश उपाधि जित्ने लक्ष्य रहेको उल्लेख गरे। नेपालका प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान कुशल देउवा पनि घरेलु समर्थकको साथमा उच्च मनोबलका साथ खेल्दै उपाधि घरमै सुरक्षित राख्ने बताउँछन्।

नेपालका प्रशिक्षक श्रेष्ठले ४५ दिनदेखि तयारी गर्ने अवसर पाएको र तदनुरूप प्रशिक्षण प्रभावकारी भएकाले नतिजा सुखद ल्याउने विश्वास व्यक्त गरेका छन्। उनले गत संस्करण यु-१९ खेलेका ११ खेलाडी अहिले टोलीमा रहेको उल्लेख गरे।

एनएसएल, लिग र ‘सी’ डिभिजन खेलिसकेका खेलाडी भएकाले अनुभवी टोली बनेको प्रशिक्षक श्रेष्ठको विश्वास छ। जहाँ प्रशिक्षण गर्‍यो। त्यही मैदानमा खेल हुँदा त्यसको फाइदा मिल्ने नेपाली टोलीको विश्वास छ।

नेपाल यु–२० टोलीका कप्तान कुशल देउवाले हाल टोलीमा अधिकांश यु–१७ बाट खेलेका एउटै ब्याचका खेलाडी भएकाले टिम कम्बिनेन्स मिलेको बताए। साथै उनले तयारी पनि राम्रो भएकाले सुखद नतिजा दिलाउने विश्वास व्यक्त गरे। उनले पछिल्लो सिजनका तुलना यसपल्ट आफ्नो टोलीले राम्रो एक्सपोजर पनि पाउनु सुखद पक्ष रहेको उल्लेख गरेका छन्।

समूह ‘ए’मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन्। अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भूटान छन्। यी टोलीमध्ये डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा गर्ने योजना बनाएको छ। भारतका प्रशिक्षक रञ्जन चौधरीले आफूहरू डिफेण्डिङ च्याम्पियन रहेको र तदनुरूप खेल्ने लक्ष्य रहेको बताए।

त्यसका लागि पहिलो खेल महत्त्वपूर्ण र तदनुरूप खेल्ने अपेक्षा गरे। उनले यसको तयारीका लागि गोवामा एक महिनादेखि प्रशिक्षण गर्नुका साथै २-३ वटा मैत्रीपूर्ण खेल पनि खेलेको बताएका छन्। उनले यो टोलीमा ४ जना खेलाडी लिग खेलेका अनुभवी खेलाडी रहेको उल्लेख गरेका छन्।

बंगलादेशले पछिल्लो संस्करण सन् २०२२ मा भएको च्याम्पियनसिपको फाइनल खेलेको थियो। तर उपाधि भिडन्त भारतसँग अतिरिक्त समयमार्फत ५–२ गोलअन्तरले स्तब्ध हुँदा उपाधि विमुख हुनु परेको थियो।

यसपल्ट पनि फाइनल खेल्दै उपाधि लिएर जाने लक्ष्य रहेको बंगलादेशका प्रशिक्षक एकेएम मरुफुल हकको विश्वास छ। देशभित्र राजनीतिक अस्थिरता भए पनि सिटीभन्दा बाहिर रहेर टोलीले तयारी गरेको उनको भनाइ छ।

उनले व्यावसायिक खेलाडी रहेकाले राजनीतिक अस्थिरताले प्रशिक्षणमा असर नपरेको बताएका छन्। तथापि दुई हप्ता तयारी गरे पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेर घर फर्किनेमा उनी विश्वस्त छन्।​

बंगलादेशका कप्तान मेहदी हसन स्राबुनले गत संस्करण ट्रफीसहित घर फर्किएकाले आफ्नो टोलीका लागि नेपाल लक्की रहेको उल्लेख गर्दै योपटक पनि सोही सफलता दिलाउने आशा व्यक्त गरे।

भारतको समूहमा रहेको माल्दिभ्सले पनि फाइनलमा पुग्ने लक्ष्यमा राखेको छ। त्यसका लागि आफ्नो टोली राम्रो तयारी गरेको माल्दिभ्सको विश्वास छ। माल्दिभ्सका प्रशिक्षक अहमद सकिरले आफ्नो टोलीले एक महिनादेखि तयारी गरेको र यसबीच खेलाडीले पनि धेरै मिहिनेत गरेको उल्लेख गरे।

एक प्रशिक्षक सहभागिताका लागि मात्र प्रतियोगितामा नआउने उल्लेख गर्दै उनले योपल्ट फाइनल खेल्न लक्ष्य रहेको बताएका छन्। उनले भारत सबैभन्दा बलियो र कठिन प्रतिद्वन्द्वी भए पनि राम्रो चुनौती दिने विश्वास व्यक्त गरेका छन्।

भूटानको टोलीमा अहिले एकेडेमीबाट मात्र खेलाडी आएका छैनन्। क्लब र विभिन्न क्याम्पबाट छनोट गरेर टोली तयार पारेको भूटानको भनाइ छ। यसका लागि भूटानले करिब डेढ महिनादेखि तयारी गरेको थियो। भूटानका प्रशिक्षक हिदेहारु ताकाहासीले साफ च्याम्पियनसिप खेल्नु गौरवको रूपमा लिने उल्लेख गर्दै यसका लागि आफूहरूले राम्रो तयारी गरेको बताए।

यो टोलीले पारो एफसीसँग पनि मैत्रीपूर्ण खेलेका थियो। १२ जना एकेडेमीबाट आएका हुन्। बाँकी क्लबबाट छन्। त्यसैले एकैपटक लामो समयसम्म प्रशिक्षण गर्न पाएनन् तर डेढ महिनादेखि तयारीबाट राम्रो गर्ने भूटानको विश्वास छ। भूटानका कप्तान पेमा जाङ्पोले सहभागी हुन मात्र नआएको र योपल्ट इतिहास बनाएर फर्किने बताएका छन्। यसपल्ट आफूलाई प्रमाणित गर्ने भूटानको लक्ष्य रहेको उनको भनाइ छ।

श्रीलंकाका प्रशिक्षक देवासागयम राजमनीले आफ्नो टोलीले राम्रो तयारी पाएकाले प्रतिद्वन्द्वीका लागि राम्रो चुनौती प्रस्तुत गर्ने बताएका छन्। राजनीतिक कारण लामो समयदेखि तयारी गर्न केही समस्या भए पनि छोटो तयारीले पनि राम्रो टोली बनेको उनको विश्वास छ। यसका लागि केही अभ्यास पनि खेलेको र त्यहाँ राम्रो प्रदर्शन भएको उनले बताए।

नेपालले यु–२० पुरुष टोली घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमा राख्ने लक्ष्य लिँदै तयारी गरेको छ। घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपाली टोलीले गत असारको अन्तिम सातादेखि तयारी गरेको हो। यसबीच युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पनि पाएका छन्।

उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटो टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरेको छ। तयारीका क्रममा नेपालले ‘ए’ डिभिजन टोली चर्च ब्वाइज र त्रिभुवन आर्मीसँग मैत्रीपूर्णको तयारी पनि गर्ने अवसर पाएको थियो।

त्यसैले नेपाली टोली घरेलु मैदानमा दाबेदारका रूपमा प्रस्तुत हुनेछ। नेपालले उद्घाटन खेलमा आइतवार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेल जित्दै नेपाल आफूलाई दाबेदारको रूपमा उभ्याउन चाहन्छ।

समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन्। अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भूटान छन्। यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भूटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्दै छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर