पार्टी फुटाउन ममाथि लागेको आरोपको खण्डन अध्यक्ष आफैँले गर्नुपर्छ : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका छन् । पार्टी स्थायी समिति बैठकमा आफूले अबको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ ? भनी प्रश्न पनि गरे ।

शनिबार पार्टीको रुकुम–काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए । सोही कार्यक्रममा बोल्दै उनले अध्यक्ष दाहाललाई तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उपमहासचिव शर्माले अध्यक्ष दाहालतिर फर्कँदै तपाईंलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताए । पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रस्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टीकरण थियो । उनले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रूपमा खण्डन गर्नुपर्ने माग गरे ।
उनले भने,‘जनवादी क्रान्तिको कार्यदिशामा दीर्घकालीन जनयुद्धको कार्यदिशालाई विकास गर्ने अध्यक्ष प्रचण्ड हो । उहाँले गरेर हामी जनयुद्धसम्म आईपुग्यौ । यहाँसम्म हामीले गरेको आन्दोलनहरू, युद्धहरू, परिवर्तनहरू जो सहभागितामूलक, समावेशी लोकतन्त्र एउटा हामीले स्थापना गरेका छौँ । त्यसको संश्लेषण चाहिँदैन ? त्यसलाई एउटा वैचारिक रूपमा अघि बढाउनुपर्दैन ? त्यस अरू १००÷२०० वर्षसम्म अगाडि बढ्नुपर्दैन ? मैले त प्रचण्डलाई अरू २ सय वर्ष बचाउने कुरा गर्दैछु । मेरो कुरा त्यो हो । अरू २ सय वर्षसम्म प्रचण्ड बाँचुन् त्यो उनको विचारले गाइड गरोस् भनेर मैले भनेको कुरालाई नेतृत्वका विरुद्ध आयो भनेर म माथि अनेक अत्याचारहरू गर्न प्रयत्न गरियो । के प्रचण्डले जीवित हुँदा मात्रै नेतृत्व गर्ने कि त्यो विचार दिएर नेपाललाई परसम्म समाजवादी क्रान्तिको नेतृत्व गर्ने ? तपाई आफैँ रोज्नुहोस् । त्यस कारण तपाईँको भूमिका विचार निर्माणमा रहोस् । वैचारिक अथोरिटी लिनुहोस् । सत्ताको नेतृत्व गर्नुस् । संगठनको जिम्मा अरूलाई दिनुस् भनेको हो मैले । यो के अन्याय हो ? यो के उहाँप्रति अपमान हो ? यो के उहाँहरूलाई हटाएर म अध्यक्ष हुन खोजेको हो ? मलाई चाहिएको छैन । मैले भनेको छु उहाँलाई । मलाई चाहिएको छैन । तपाईँलाई हटाएर मलाई अध्यक्ष हुनु छैन । तर यो पार्टी आन्दोलन बनाउने हो भने यो छलफल चाहिन्छ भनेर मैले पार्टीमा छलफल राखेको हो । प्रस्ताव राखेको हो । छलफल हुँदैछ । भूमिकामा र नेतृत्वलाई स्थापित गर्ने यदि नयाँ ढङ्गले जाँदैनौ भने हामी सकिन्छौँ । हामी नसकिऔँ, हामी आन्दोलनलाई बचाऔँ भन्ने कुरा राख्दा मैले अनेक आरोप खप्नुपर्ने ? खपौँला पार्टीका लागि खप्ने कुरा गरौँला । स्थायी कमिटीको बैठकबाट ३ वटा कुरा निर्णय भएका छन् । मैले उठाएका केही प्रश्नहरू थिए । मैले सार्वजनिक रूपमा त्यो भन्नैपर्ने हुन्छ । त्यो प्रश्नको बारेमा अध्ययन अनुसन्धान गरेर अध्यक्ष कमरेडले स्पष्ट गर्ने भन्ने निर्णय भएको छ । मैले त्यसलाई ओके गरेको छु । समर्थन गरेको छु । पार्टी फुटको प्रचार भयो भनेर मैले जहाँ भनिरहेको छु त्यही वरिपरिबाट नेतृत्व वरिपरिबाट मेरो सिधा कुरा छ । त्यसमा उहाँको भूमिका कति छ, छैन, उहाँले भन्नुहोला । त्यो कुराको खण्डन अध्यक्षले नै गर्नुपर्छ । म प्रत्येक पार्टी सदस्यसँग गएर कानेखुसी गरेर भन्न सक्दिन । गर्नुपर्छ भनेर मैले भनेको छु । र, निर्णय पनि त्यही भएको छ । गर्ने भन्ने भएको छ । अध्यक्ष मैले बोले पनि भन्नुभएको छ । बोल्नु पनि होला । तेस्रो कुरा पार्टी निर्माण सम्बन्धी राखेको कुरा विचार, योजनाहरूलाई छलफल गरौँला केन्द्रीय समितिसम्म भन्ने भएको छ । पार्टीमा बहस गर्दा त केही बिग्रँदो रहेनछन् त । स्थायी कमिटीमा बहस गरियो, त्यहाँसम्म पुगियो । केन्द्रीय समितिमा बहस गर्दा त्यो भन्दा राम्रो बन्ला अझ । यो कसरी नराम्रो भयो ? पार्टी बनाउने एजेन्डामा छलफल गर्दा कसरी नराम्रो भयो ? आज जुन ढङ्गले आरोपित गरेर पार्टी खोल मलाई नभनेका होइनन् । भनेका छन् । तर म किन खोल्ने ? यही पार्टी मेरो हो भनेको छु मैले । यही पार्टी मेरो हो । मैले किन पार्टी खोल्ने ? यही पार्टी हो नि मेरो । मेरो मात्रै होइन, म जस्ता हजारौँको पार्टी हो नि । मैले त्यो भनेको छु । म १४ वर्षदेखि यो आन्दोलनमा लागेको हो । ६१ वर्षको भए । म आन्दोलनमा लागेको ६ वर्षपछि अध्यक्ष प्रचण्डसँग भेट भएको थियो । त्यसपछि उहाँसँगै छु म । मैले कुनै दिन बिसाएको छैन । एक दिन पनि बिसाएको छैन । कति गल्ती गरे हुँला, कति राम्रो गरे होला । तर आजसम्म मैले बिसाएको छैन । यो करिब ४८ वर्ष भएछ । ४८ वर्षको यो दौरानमा मैले धेरै हमलाहरू खपेको छु । मैले धेरै आक्रमणहरूको प्रतिवाद गरेको छु । तर साबित गरेर मलाई प्रमाणित गर्न कसैले सकेको छैन । म चुनौती दिन्छु अहिले पनि कसैले साबित गर्छ भने । मैले पार्टीको, आन्दोलनको, नेतृत्वको, जनताको पक्षमा बाहेक काम गरेको पनि छैन । मनोगत रूपमा लाइदिने आरोपको त म के गर्न सक्छु र ?’

प्रतिक्रिया

One thought on “पार्टी फुटाउन ममाथि लागेको आरोपको खण्डन अध्यक्ष आफैँले गर्नुपर्छ : जनार्दन शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *