खुम्बु क्षेत्रमा दुईवटा हिमताल फुटेपछि थामे बाढी

सोलुखुम्बुको थामे र दूधकोशी नदीमा शुक्रबार आएको विनाशकारी बाढी खुम्बु क्षेत्रका दुई हिमताल फुटेका कारण आएको पुष्टि भएको छ ।

शनिबार प्रभावित क्षेत्रमा पुगेको रक्षामन्त्री मानवीर राईको नेतृत्वमा गएको अध्ययन टोलीले यी हिमताल एक्कासी फुटेका कारण ठूलो बाढी आएको पुष्टि गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले खुम्बु क्षेत्रका पाँच हिमतालमध्ये शुक्रबार दुई वटा फुटेर विनाशकारी बाढी आएको बताए ।अहिले थप दुई ताल फुट्ने जोखिममा छन् भने एउटा स्थिर रहेको छ ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका–५ मा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । हिमतालको प्रकोपले बगेको थामे नदीले २० घर, कैयौं होटल लज, स्वास्थ्य चौकी र एउटा विद्यालय बगाएको छ । बाढीले स्थानीय विद्युत आयोजनाको पावर हाउस पनि पूर्णरुपमा ध्वस्त बनाएको छ भने खुम्बु पासाङ्ल्हामु–३ फाकडिङदेखि नाम्चे जामेसम्मको करिब २०० मिटर पदमार्ग अवरुद्ध भएको छ । सोलुखुम्बुबाट निर्वाचित मन्त्री राईले अझै हिमताल प्रकोपको जोखिम उच्च रहेकाले स्थानीयवासीलाई सचेत रहन आग्रह गरेका छन् ।

अधिकारीहरूले स्थितिलाई नजिकबाट निगरानी गरिरहेका छन्, विशेष गरी दुई ग्लेशियरहरू जुन अझै फुट्ने जोखिममा छन्। थामे नदी किनारका स्थानीय बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । यस प्रकोपले जलवायु परिवर्तनले निम्त्याएको बढ्दो जोखिम र हिमालयमा हिमतालहरूको बढ्दो जोखिमलाई उजागर गरेको छ। भविष्यमा यस्ता प्राकृतिक प्रकोपको असरलाई न्यूनीकरण गर्न सरकार र स्थानीय निकायले तत्काल राहत र दीर्घकालीन रणनीतिमा काम गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *