अपडेट : सोलुखुम्बुको थामे गाउँमा बाढीले विद्यालयसहित १४ घर बगायो

दूधकोशी किनारका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामे गाउँमा आज दिँउसो आएको लेदोसहितको बाढीले विद्यालयसहित १४ घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) लक्ष्मण गिरीले बाढीले हालसम्म एक विद्यालयसहित १४ वटा घर बगेको जानकारी दिँदै थप विवरण संकलन भइरहेको बताए ।

बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य क्लिनिक, ७ वठा व्यक्तिगत घर, ७ वटा होटल बगाएको हो ।

हालसम्म मानवीय र पशुचौपायको क्षतिको विवरण नआएको इन्स्पेक्टर गिरीले बताए । हिमताल फुटेर वा हिमपहिरो गएर बाढी आएको हो भन्ने यकिन हुन बाँकी रहेको उनले बताए ।

उनका अनुसार बाढीले बढेको दूधकोशी नदीको बहाव घट्दै गएको छ ।

‘घटनास्थलमा प्रहरी टोलीले उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म मावनीय र पशुचौपायाको क्षतिको विवरण आएको छैन,’ इन्स्पेक्टर गिरीले पर्दाफाससँग भने ।

नेपाली सेनाको उद्धार टोलीले सो क्षेत्रबाट ६ जनाको उद्धार गरेको छ ।

बाढीले दूधकोशी नदीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय सोखुलुम्बु र जिल्ला प्रशासन कार्यालय खोटाङले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थान सर्न आग्रह गरेका छन् ।

दूधकोशी सोलुखुम्बु र खोटाङको सिमाना भएर बग्ने नदी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *