प्रचण्ड र नेपालबीच लगातार छलफल, होला त पार्टी एकीकरण ?

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का बीचमा पार्टी एकीकरणका लागि छलफल सुरु भएको छ । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकीकरणसहित विभिन्न विषयमा छलफल भएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबार सुरु भई हिजो (बिहीबार) सकिएको छ । बैठकमा पार्टी एकीकरणकाबारेमा समेत छलफल भएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै गर्दा अध्यक्ष प्रचण्डले नेपालसँग छलफल गरेका छन् । पार्टी एकीकरण, समाजवादी मोर्चाको अगामी कार्यक्रम, विपक्षी गठबन्धनलाई बलियो बनाउनेलगायतका विषयमा छलफल भएको छ ।

माओवादी केन्द्र एकीकृत समाजवादी, प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सहितका पार्टीसँग एकीकरण गर्ने रणनीतिमा छ । विप्लव नेतृत्वको नेकपा, यादव नेतृत्वको नेसपासँग एकीकरण गर्ने विषय सहमतिनजिक छ । तर, एकीकृत समाजवादी र आजपासँगको एकीकरण हुने नहुने कुनै टुंगो छैन ।

‘माओवादी केन्द्र र विप्लव, महेन्द्रजीहरूसँग एकीकरण गर्ने विषय लगभग सहमतिनजिकै छ, जुनबेला पनि एकता हुनसक्छ, तर एकीकृत समाजवादीसँगको छलफल मात्रै भएको हो, कुनै किसिमको टुंगो लाग्न सकेको छैन, सहमति भए एकीकृत समाजवादीसँग पनि एकीकरण गर्न प्रचण्ड कमरेड तयार नै हुनुहुन्छ,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘आजपासँग कुनै प्रकारको छलफल त भएको छैन, तर प्रचण्ड कमरेडले आजपासँग पनि एकता गर्न चाहनुभएको छ ।’

माओवादी केन्द्रको सम्पन्न स्थायी कमिटी बैठकले कम्युनिस्ट पार्टीको पुनर्गठन अनिवार्य रहेको निष्कर्ष निकाल्दै एकीकरणका लागि पहल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पार्टी प्रवक्ता अग्नि सापकोटाले कम्युनिस्ट पार्टीको पुनर्गठनबारे बैठकमा घनीभूत छलफल र बहस भएको बताए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *