स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरूपता कायम गर्छौं : पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरूपता कायम गर्ने बताएका छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा उनले सरकारले यस विषयलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहेको बताए । उनले हवाई टिकट मूल्यमा एकरूपता ल्याउन सकारात्मक निर्णय हुने पनि विश्वास दिलाए ।

‘आन्तरिक हवाई भाडादरमा एकरूपता कायम गर्ने विषय महत्त्वपूर्ण विषय हो । यो विषयलाई प्राथमिकतामा राखी छलफल अघि बढाइसकेको छ,’ मन्त्री पाण्डेले भने, ‘यो विषयमा स्वदेशी र विदेशी पर्यटक जो हवाई यात्रा गर्नुहुन्छ, टिकटमा मूल्यका निम्ति छलफल जारी रहेको र यसको सकारात्मक निर्णय आउनेछ ।’

उनले पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको गुनासो गरे । उनले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याई यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताए । उनले सातवटै प्रदेशलक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम इको हिल टुरिज्मलगायतका कार्यक्रमहरू यस वर्षको बजेटमा समावेश गरिएको जिकिर गरे ।

भारत र चीनका पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड शोलगायतका प्रचारप्रसार गर्ने कार्यक्रमहरू कार्यान्वयन गरिएको उनले बताए । उनले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको र होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगका रूपमा विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको बताए ।

पर्यटन क्षेत्रको दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्त्व र प्राथमिकता दिइएको उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *